images

शनिवार, बैशाख ८ गते २०८१

दशैं दशा जस्तो भयो !

दशैं दशा जस्तो भयो !

images
images
images
शनिवार, आश्विन १५ २०७९
शनिवार, आश्विन १५ २०७९
  • दशैं दशा जस्तो भयो !

    दशैंलाई नेपालीहरुको प्रमुख चाडपर्वको रुपमा हेरिन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिनका दिन मान्यजनवाट टीका प्रसाद ग्रहण गरी विशेष रुपमा पूर्णिमासम्म नै दशैंलाई मनाउने गरिन्छ । दशैं हिन्दु धर्मावलम्बीहरुको महान पर्व भएकोले हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन घरघरमा जमरा राखी नवमीसम्म नवरात्री विधिले प्रत्येक दिन फरकफरक देवीको पुजा गर्ने गर्दछन् भने विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावण माथि विजय हासिल गरेको हुनाले हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष पर्वको रुपमा हेर्ने गरेका छन् ।

    images
    images
    images

    दुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाइयो पर्व मनाउने गरिन्छ भने किम्वदन्ती अनुसार यसै दिन रामले रावणको वध गरेका थिए । यसलाई हिन्दू धर्मावलम्बीहरुले असत्य माथि सत्यको विजयको रुपमा लिने गर्दछन् । यसै कारण दशमीको दिनलाई विजयादशमी भनिएको हो । यस चाडलाई राज्यले पनि राष्ट्रिय चाडको रुपमा हरेको छ । फुलपातीदेखि पूर्णिमासम्म सबै सरकारी निकाय तथा विद्यालयहरु बन्द गरिन्छ भने गैरसरकारी निकायहरु पनि फुलपातीदेखि द्वादशी सम्मका लागि विदा दिइन्छ । यस चाडको अवसरमा घरआँगन सफा राख्ने, नयाँ कपडाहरु लगाउने, आफ्नो क्षमता अनुसार खानाहरु खाने तथा खुवाउने र आफना नाता कुटुम्बहरुवाट टीका तथा जमरा लगाई आर्शीवाद लिने गरिन्छ ।

    एउटा वर्गले, दशैं जस्तो पवित्र पर्वलाई भड्किलो र प्रतिष्पर्धाको रुपमा मनाउने गरेको र अर्को तर्फ केही व्यवसायीदेखि प्रहरी, बस व्यवसायीदेखि चालक, खुद्रा व्यापारीदेखि थोक व्यापारीसम्मले कमाउने धन्दाको रुपमा लिने गरेको गुनासो सर्वसाधारणवाट सुन्न सकिन्छ । यस कारण पनि दशै महंगो र भड्किलो भएको मानिसहरुको भनाइ छ । यसको उदाहरण हो, रुपन्देही जिल्लाका राजेश हरिजनको उनको भनाइमा आजभोलि दशैं त दशैं जस्तो नभएर दशा जस्तो भएको छ रे । महंगीले आकाश छोएको छ, कमाउने बाटो छैन् छिमेकीको तडकभडक देखेर आफना कलिला छोराछोरीहरु नयाँ लुगा र कपडाको माग गर्छन । हाम्रो घरमा खसी कहिले ल्याउने ? भनेर सोध्छन् । यसको उत्तर मैले मेरा कलिला छोराछोरीहरुलाई कसरी दिन सक्छु ?, उनको जस्तो पीडा धेरै नेपालीहरुको छ । नवलपरासी पश्चिम सुस्ताका सन्जितकुमार शर्मा पनि दशैं अत्यन्त महंगो हुदै गएको बताउनु हुन्छ।

    विगतमा दशैंलाई रमाइलो पर्वको रुपमा हेर्ने गरिन्थ्यो, अहिले आएर बोझको रुपमा हेर्न थालिएको छ रे । वर्षेनी आउने दशैलें उत्साह, उमंग भन्दापनि ऋण बोकाएर जान्छ रे । सरकारी कर्मचारी तथा रोजगार प्राप्त व्यक्तिहरुको त दशैं खर्चले धान्ला जो एकछाक खानका लागि सधैं संघर्ष गर्नुपर्ने वर्गका लागि दशैं त दशा नै भएको छ रे । देशलाई कोरोनाले थिलथिलो पार्‍यो, अहिले डेंगुले हाहाकार मच्चाइरहेको छ । देश बनाउने ठेक्का लिएर बसेकाहरु सधैं सत्ता, शक्ति र स्वार्थमा केन्द्रित छन् ।

    देश भ्रष्टाचारले चुर्लुम डुबेको छ । यस्तो अवस्थामा कसरी नेपालीहरु समृद्ध र सुखी हुन सक्छन् र नेपालका हरेक पर्वहरुलाई उत्साह र उमंगले मनाउन सक्छन् ? यो भनाइ हो कपिलवस्तुमा भेटिएका राजमन बरईको । उनको भनाइमा एका थरीले घाँटी अनुसारको हाड निल्ने नि भनेर ओठे जवाफ फर्काउन छन् रे । आफनो चाडपर्व मनाउने रहर कसलाई हुँदैन र ? हाड निल्न पनि गाहे छ भन्ने कुरा मैले मेरो परिवारलाई कसरी सम्झाउन सक्छु ? यो ठाडो प्रश्नको अनुत्तरित उत्तर हो मेरा लागि । नेपालको राजनीतिले कुन्ठित देशमो हरेक नेपालीको अन्नत कालसम्मको प्रश्न हुन सक्छ यो ।
    सिन्धुपाल्चोक जिल्ला हेलम्बु, सारथांग निवासी फुर्वा दोर्जेका अनुसार, कसैको आत्मा मारेर मनाइने पर्वले स्वर्गको ढोका खुल्छ भनेर कसरी विश्वास गर्ने ? कसैको बध नगरेर पनि दशैं मनाउन सकिन्छ नि, वर्षेनी दशैंमा हजारौं पशुपंक्षीहरुको बध गरिन्छ । बध गरेर धर्म कमाईन्छ ?, धर्मको नाममा कसैको हत्या गरेर मनाइने पर्वले स्वर्गको ढोका खुल्छ ? यो मार्मिक प्रश्न पनि हो यसतर्फ सबैको ध्यान जान आवश्यक छ । अर्को तर्फ, यस पवित्र समयको मौका छोपी व्यापारीहरुले गर्ने काला बजारी, अन्य समयको तुलनामा यो समयमा मुस्कानसहितका प्रहरीहरुले भाडाका गाडीहरुको चेकजाँचलाई दिएको तीव्रता जस्ता कुरालाई पनि यातायात व्यवसायीहरुले सजिलै पचाएका छैनन् । दशैं खर्च उठाउनका लागि प्रहरीहरुले अनावश्यक दु: ख दिन्छन् भन्ने उनीहरुको गुनासो छ ।

    विदेशमा रोजगारी गरिरहेका नेपालका हजार्रौ युवाहरु दशैंमा घर आउँदा भारतका नाकाहरुमा लुटिएका छन् भने विमानस्थलहरुमा अनावश्यक झण्झट र सास्ती खेप्नु परेको छ । रेमिट्यान्सबाट देश चलिरहेको छ । अर्काको देशमा रगत र पसिना बगाएर देशको ढुकुटी भरिरहेका युवाहरु दशैं मनाउन घर आउँदा लुटिएका छन् । बजार भाउले आकाश छोएको छ । प्रत्येक वर्ष यसै समयमा यातायात दुर्घटनाका कारण नेपालीहरुको ज्यान जाने गरेको छ । मद्यपानको कारण यस समय माझै–झगडा र हिंसामा पनि वृद्धि भएको छापाहरुमा आइरहेका छन् । मनोरञ्जनको नाममा, जुवा, तासले कयौं मानिसहरुको बिचल्ली भएको छ ।

    विगतमा मकवानपुर जिल्ला भिमफेदीको एक परिवारका घरमुलीले दशैंमा थापेको सबै तलब तासमा हारेपछि उनका परिवारका छोरा र श्रीमती दशैं मनाउनबाट वञ्चित भएका थिए । यसबाट ती महिला र बालकमा कस्तो असर प¥यो होला ? हामी कल्पना पनि गर्न सक्छौ ? देखासिखीका कारण ऋण काढेर भएपनि दशैं मनाउने होडबाजीले गर्दा पनि कतिको घरवार बिचल्ली भएको छ । धर्मको नाममा दिइने बलीले एकातिर अनावश्यक खर्च बढाएको । यसतर्फ सबै सचेत हुन आवश्यक छ ।

    दशैंको मुखमा, हुने खाने वर्गका चहलपहल र हैकमवाजी सोच र खोक्रो आडम्बरका कारण कयौं गरीब नेपालीहरु दशैका कारण चिन्तित हुने गरेका छन् । उच्च वर्गले समाजमा अग्र र आफु सक्षम देखाउने होडबाजीका कारण विशेषत: गरीब परिवारमा मानसिक विचलन देखिएको छ । आफनो घर नजिकका छिमेकीको तडकभडकका कारण अन्य बालबालिकामा यसको नराम्रो असर परेको छ । यसकारण पनि दशैंलाई सरल र सहज बनाउनका लागि मापदण्ड तोक्न अति आवश्यक छ । दशैं हिन्दु धर्मावलम्बीहरुको महान पर्व हो । यसलाई मर्यादित बनाउन तर्फ सबैको ऐक्यबद्धताको खाँचो छ । दशैंको मुखमा गरिने कालाेबजारी, यातायात दुर्घटना, मादक पदार्थवाट हुने हिंसा, दशै मनाउन आएका मानिसहरुको सुरक्षातर्फ राज्य संवेदनशिल हुन आवश्यक छ । परम्परा र संस्कृतिलाई समय सापेक्ष परिमार्जित गर्दै लैजान पनि त्यति नै आवश्यक छ ।

    परम्परा र संस्कृति धान्ने नाममा, अनावश्यक मानसिक विचलनले परिवार र समाजमा नराम्रो असर पर्छ । धर्म, संस्कृति तथा परम्परा जोगाउनु पर्छ । यसमा दुईमत छैन् तर परम्परा जोगाउने नाममा कसैको उठिवास भने हुनुहुँदैन् । चाडपर्वलाई सरल, सहज र व्यवहारिक वनाउन सबै राज्य र नागरिकको दायित्व हो । यसतर्फ सबैको ध्यान जानुपर्दछ ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij