२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

गृहमन्त्री खाँणले भने– विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन्छौं

शनिवार , आश्विन २९, २०७९

भैरहवा, २९ असोज ।
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा पाँचदलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।

‘स्थानीयले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागी पुस्तौदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुुपर्छ,’, उनले भने, ‘स्थानीयले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनु हुँदैन ।’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गृहमन्त्री खाँणले विमानस्थल यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए । ‘मैले सुरुदेखि नै भन्दै आएको कुरा यही हो, यहाँका स्थानीय हरेक कुराहरुमा प्राथमिकतामा पर्नुपर्छ, उनीहरुले विमानस्थललाई अपनत्व ग्रहण गर्नुपर्छ र आत्मनिर्भर पनि बन्नुपर्छ’, उनले भने ।

गृहमन्त्री खाँणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यता अनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध पनि रहेको र यसबारे आफूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे । त्यस्तै विमानस्थलमा कार्गो सचांलनका लागि पहल भइरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्याएर स्थानीयलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।

‘यसले स्थानीयलाई उत्पादनमा अभिप्रेरित गर्छ, आत्मनिर्भर बनाउँछ, विदेशी मुद्रा आर्जन हुन्छ र स्थानीयसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुग्छ’, उनले भने । उनले सीमा क्षेत्रका नागरिक धर्तीपुत्र भएको बताए । त्यसैले, त्यस्ता नागरिकलाई राज्यले विशेष सम्मान गर्ने जनाए । गृहमन्त्री खाँणले वर्तमान गठबन्धनले सन्तुलित विकासमा ध्यान दिइरहेको जनाउँदै क्षेत्र र जिल्लाको विकासमा आफूले विशेष पहल गर्दै आएको र आगामी दिनमा पनि गर्ने स्पष्ट पारे । खाँणले लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको बताए ।

अर्को प्रसंगमा गृहमन्त्री खाँणले मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नु पर्ने  बताए । उनले सरकारले हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिने जनाउँदै ढुक्क भएर मुलुकको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, संघीयताको रक्षा गर्दै मुलुकको समग्रमा विकासमा लाग्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन पहल गर्ने जनाए । उनले हरेक सुखदुःखमा आफू स्थानीयसँगै रहेकाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउन अपिल गरे ।

युुवाहरु कांग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी युवा उद्यमी तथा सयौं युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा युवा व्यवसायी हरि खत्रीको नेतृत्वमा युवाहरु पार्टी प्रवेश गरेका हुन् । बुटवल, शुद्धोधन, सियारी, मायादेवी, सिद्धार्थनगर क्षेत्रका युवाहरु नेपाली कांग्रेसको नीति, सिद्धान्त र पार्टी युवामैत्री भएको भन्दै प्रवेश गरेका हुन् ।

युवाहरुलाई पार्टीमा स्वागत गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण खाँणले काँग्रेस सबैको र सबै अट्ने पार्टी भएको बताए । उनले पार्टीमा आइसकेपछि नयाँ पुरानो भन्ने कोही नहुने र सबैको सामूहिक प्रयासबाट मात्र पार्टी अगाडि बढ्ने जनाए । क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व, क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नगर सभापति कोशिष बहादुर खड्का, उपसभापति देवराज न्यौपाने लगायतले बोल्दै युवाहरुलाई काँग्रेसमा गोलबन्द हुन आग्रह गरे ।