लँगोटी भन्ने शब्द त थाहा थियो तर यो पनि विलुप्त प्रायः भइसक्यो फरक यति हो नेताहरुले आफ्ना झोले कार्यकर्ताहरुलाई लँगोटी वा सो सरह मानेर व्यवहार गर्दै आएको देखिन्छ । कार्यकर्ताहरुलाई आफू लँगोटी भएकोअलिकति भास र अनुभव धेरै कालसम्म रहेन तर यसपाली यो छताछुल्ल भएर पोखियो वागि उम्मेदवारको रुपमा ।
अब झोला बोक्नेहरु पनि गम्भिर सोचमा परेको देखिन्छन् । ‘झोला’ र ‘लँगोटी’ फरक फरक कुरा हुन् ‘लँगोटी’ भन्दा ‘झोला’ अलि इज्जतदार मानिन्छ – तर ‘झोला’ को भन्दा नेताका लागि ‘लँगोटी’ को बढी महत्व छ, यसले त्यस बेलासम्म छोड्दैन जब यसलाई आफै उतारिन्न। विडम्बना भनौं ठूला ठूला सिद्धान्तका लँगोटी बेर्नेहरु यसपाली नराम्रोसँग ‘टिकट’ मामलामा ‘विकट’ मा परेको कुरा सरल, स्टेश्नर्सका भाई विष्णु मारसिनी भन्दछन् । ‘लँगोटी’ पनि कस्तो र कति वित्ता या हातको त्यसलाई नेताहरुले राम्ररी पगेरेका छन् । लँगोटीको ‘गुण’ र टिकाउपनलाई याद गरेर नै उनीहरले कन्दनी बेर्ने गरेको एक जना नेताका भाईले बताए । एक जना ठूलै नेताले ‘कन्दनी’ अलि कमजोर लगाएछन्, लँगोटी पनि धान्नै नसक्ने गरी –च्वाट चुँडियो.. अनि उनी कुलेलम ठोके पहाडमा भिर र पखेरामा– दरो कन्दनीको खोजीमा । उनको गहन खोजाइले दरो कन्दनी पाउँछन् पाउँदैनन्, यो चाँही निर्वाचन पश्चात नै थाहा हुन्छ ।
उहिले हाम्रा पुर्खाहरुले लँगोटी दरो कसेर कुश्ति खेल्दथे र प्रतिद्वन्दीलाई हराउँथे, ऐेलेको अवस्था अलि फरक छ, लँगोटी आफैँ चलायमान छ, उसले घरि घरि नेताको संवेदनशील ठाउँमा बेला कुबेला प्राहार गर्छ – यो अवस्थाबाट मुक्त कसरी हुने ? भनेर नेताहरुको समूहबीच ठूला छलफल हुन्छ ।
“हामीले अब यो ‘लँगोटी’ फ्याक्नु पर्छ, लँगोटी हाम्रा लागि जती प्रिय भएपनि यसलाई स्थानान्तरण गरी गलामा लगाउनु पर्छ । यसलाई प्रिय वस्तुको रुपमा स्वीकार गर्न सकियो र लँगोटी विस्थापीत गर्न सकियो भने विदेशी शक्तिहरु, हाम्रा भक्तहर ठूला ठूला गिर्जाघरका पादरीहरु खुसी हुनेछन् ।” ठूला नेताले आफ्नो तर्क अगाडी सारेको देखेर झोले कार्यकर्ता भन्छ, “एकै चोटी कसरी विस्थापीत गर्न सकिन्छ र ? यसलाई विस्तार विस्तारै विस्थापित गर्दै लानु पर्दछ जसरी निर्वाचन टिकट वितरणमा गर्नु भयो त्यही विधि अपनाउनु पर्दछ ।” नेता भन्छन् “अब हामीले यो निर्वाचनमा एउटै नारा अगाडी ल्याउनुपर्छ – त्यो हो ‘लँगोटी विस्थापन’ यो नाराको विरोध गर्नेहरु भरौटे, विदेशी दलाल र पुनरुत्थानवादी नै हुन् । हाम्रो महान क्रान्तीले ‘लँगोटी’ रुपी थोत्रा मालहरु फ्याकेर त्यसका ठाउँमा विभिन्न साइज र आकारका ‘कण्ठ लँगोटीहरु’ निर्माण गर्नु पर्दछ । यसो गर्न सकियो भने देशले फड्को मार्ने निश्चित छ ।”
नेताको भाषणमा दम थियो उनी भन्दै थिए, “नेपाली जनताहरु मूर्ख छन्, प्रायः अनपढ छन्, केही पढे लेखेका उम्मेदवारहरु खाडी मुलुक तिर घाम ताप्न गएका छन् । धेरै जान्ने र बुझ्ने दिमाग भएकाहर विदेशमा ढुक्क भएर बसेका छन् । अब बाँकी बेरोजगार, सिप नभएका पेसा भनेपछि १ बोतलमा विक्ने युवाहरु जो ‘लँगोटी’ का रुपमा थिए अब कण्ठ लँगोटीका रुपमा प्रयोग गर्नु नै पर्दछ । यिनिहरुलाई प्रयोग गर्न सजिलो छ, पहिले पार्टीको सदस्य भएको सानो ‘लँगोटी’ दिनु पर्छ त्यसपछि ‘ल राम्रो काम छ तिम्रो ’ भनेर ‘सकृय सदस्य’ दिनु पर्दछ – झण्डा बोक्न लगाउनु पर्दछ, नारा घन्काउन सिकाउनु पर्दछ – यस्ता कामका लागि अलि कुख्यात युवाहरुको जमातलाई पार्टीमा स्थान दिनुपर्दछ ।
उनी भन्दै गए, “ पार्टीको नीति, सिद्धान्त र नियम केही पनि यिनलाई भन्नु पर्दैन, पार्टी नीति र नियम हामीलाई थाहा छैन – तिनलाई सिर्फ र सिर्फ हाम्रो भक्तिभाव सिकाउनु पर्दछ, यसका लागि नै हो हामीले एउटा ठूलो कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु गर्नुपर्दछ । अब हामीले एउटा प्रशिक्षण कार्यक्रम चलाउनु पर्ने आवश्यकता नै परेको छ । जसले विरोध गर्दछ – तुरुन्त कारवाही गरीहाल्नु पर्दछ । हामी भनेको नेपाल हो र नेपाल भनेको नै हामी हो, किनभने हामी गठबन्धनमा छौं । हाम्रो विरोध गर्ने देश र समग्र अग्रगमनको विरोधि हो, यस्तालाई नेस्तानावूँद गर्न विदेशी शक्तिहरुले पनि हामीलाई पुरै साथ यसकारणले दिएका छन् कि हामीहरु वर्षौ देखि उनीहरुको कण्ठ लँगोटी बनेर हल्लिरहेका छौं र हल्लिरहने छौं हो, यसैले वर्तमान आवश्यकता भनेको नै ‘लँगोटी’ लाई कण्ठ लँगोटीमा रुपान्तरण.....!!!