२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादीः गृहमन्त्री खाँण

बिहिवार , कार्तिक ३, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको जनाए ।

    रुपन्देहीको सियारी–२ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाँणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको जनाउँदै सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे । उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने बताए ।

    ‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याई हो’, खाँणले भने । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको बताए ।

    ‘हामीले सीमाबासीलाई पर्ने हरेक समस्यामा साथ दिँदै आएका छौं, नेपाली काँग्रेस र गठबन्धन सरकार सधैं तपाईंहरुको साथमा छ, ढुक्क भएर नेपाली भूमिको रक्षा गर्नुस्, निर्धक्क भएर आफ्नो दैनिकी संचालन गर्नुस्’, उनले भने, ‘समस्या परे सरकारले सहयोग गर्छ, समाधान गर्छ, यहाँहरुको हीतका काम गर्छौं ।’