२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

मेरो जीत सुनिश्चित छ : स्वतन्त्र उम्मेदवार खड्का

बिहिवार , कार्तिक १७, २०७९

भैरहवा, १७ कात्तिक । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्काले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । उनले नयाँ अनुहारलाई जिताउनु जनताको चाहना रहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताए । 

बिहीबार भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै उम्मेदवार खड्काले जनताको मायाले आफू उत्साहित भएको बताए । उनले जनताको समर्थनका कारण आफूलाई खुसी लागेको बताए ।

उनले भने, ‘निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्छ, यो व्यक्ति विशेषका लागि मात्र होइन, उम्मेदवार भएपछि सबैलाई एउटै नियम हुन्छ, कानून सबैका लागि बराबर हुन्छ ।’
उनले निर्वाचनमा अनावश्यक खर्च गर्ने कारण के हो भन्दै प्रश्न गरे । उनले भने, ’म पाँच लाखमा टुंग्याउछु, ५ भनिरहँदा ६ होला वा ४ होला तर १०  लाख लाग्दैन, न्यूनतम रकम खर्च गरेर चुनाव लड्छु, सरकारको नियम पालना गर्छु ।’

उद्योगी समेत रहेका खड्काले आफ्नो कोही पनि प्रतिष्पर्धी नरहेको दावी गरे । उनले मंसिर ४ गते जनताले पुराना अनुहारलाई मतदान नगर्ने दावी गरे । अहिले सरकारले मलको व्यवस्थापन गर्न नसकेका कारण जनताले मल पाउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘रोजगार प्रवद्र्धन, आयात प्रतिस्थापन गर्दै आयकर तिर्दै नागरिकको दायित्व पूरा गर्दैछु, म योग्य छु भन्ने कुरा मेरो कार्यले प्रमाणित गर्छ । ’ उनले विगतमा उम्मेदवारले राम्रो काम गर्ने भए हामी जस्ता मान्छे किन उम्मेदवार भएर आउनुपर्यो भन्दै प्रश्न गरे ।