२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु : उम्मेद्वार केसी

बिहिवार , कार्तिक २४, २०७९

बुटवल, २४ कार्तिक । आफूहरुका हक अधिकार राज्यबाट सम्बोधन गराउन मजदुर उम्मेद्वारहरुलाई जिताउन मजदुर नेताहरुले आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिले विहिबार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा मजदुर नेताहरुले आफ्नो क्षेत्रबाट उम्मेदवार बनेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका हुन् ।

नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश सल्लाहकार दीर्घबहादुर (कुमार) केसीलाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएको छ । त्यस्तै यसै क्षेत्रबाट ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य अयोध्याप्रसाद यादवलाई समानुपातिक सूचीमा राखेको छ । संसद र सरकारमा समेत मजदुरका बास्तविक माग उठान गर्न र हक अधिकारहरु स्थापित गराउनको लागि पनि मजदुर नेताहरुलाई जिताउनु पर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले मजदुरका नेताहरुले जीते मात्रै मजदुका मुद्धा उठाउन हुने र नीति निर्माणमा पनि मजदुर अनुकुल हुन सक्ने भएकाले यस्तो विषयमा दल नभनेर मजदुर उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
उनले अहिलेसम्म मजदुरका जतिपनि नीतिगत तथा कानुनी व्यवस्था भएका छन् काँग्रेसकै नेतृत्वमा भएको दावी गर्दै मजदुर तथा काँग्रेस नेतृत्वका गठबन्धन दलका उम्मेदवारहरुले जित्नुपर्ने बताए ।

त्यस अवसरमा रुपन्देही क्षेत्र नं. २ (क) बाट सत्ता गठबन्धनका उम्मेद्वार मजदुर नेता दीर्घबहादुर केसीले मजदुरका विद्यमान समस्या समाधानको लागि आफूले पहल गर्ने बताउँदै चुनाव जितेर संसदमा गएपछि पनि मजदुरको पक्षमा नीति निर्माण तथा ऐन कानुनहरु बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले अहिले पनि असंगठित क्षेत्र र स्वरोजगार मजदुरका धेरै समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि ठोस योजना बनाउने बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा समानुपातिक उम्मेद्वार अयोध्याप्रसाद यादवले मजदुरका समस्या समाधानको लागि काँग्रेस नेतृत्वको सरकारले धेरै काम गरेपनि अझै धेरै गर्न बाँकी रहेको बताए। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोष परिचालनको लागि सरकारले ठोस कार्यक्रम ल्याउन नसक्दा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै त्यसको लागि पनि मजदुर नेताहरुलाई जिताउनु पर्ने भनाई राखे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मजदुरका समस्या समाधानका लागि स्थानीय तहबाट के गर्न सकिन्छ त्यसको लागि आफू तयार रहेको बताउँदै उपयुक्त सुझाव दिन आग्रह गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव गणेशबहादुर केसी, सहकोषाध्यक्ष सुशिला घिमिरे, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन)का केन्द्रीय अध्यक्ष जेवि गुरुङ, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ लगायतले बोलेका थिए ।