
सोमवार , श्रावण १२, २०७७
बुटवल, १२ साउन ।
लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसंगको सम्बन्धको प्राथमिकतामा राख्न सरोकारवालाले सरकारलाई सुझाएका छन् । करिब डेढ जनसंख्या भएको चीनमा बौद्धमार्गीको बाहुल्यता भएकाले उनीहरुलाई नेपालमा आकर्षित गरी पर्यटनबाट लाभ लिन लुम्बिनी र बुद्धिजमलाई दुई देशको सम्बन्धको पहिलो प्राथमिकतामा राख्न सरोकारवालाले सुझाएका हुन् ।
नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ औं वर्षगांठको पुर्वसंध्यामा नेपाल चीन मैत्री समाज लुम्बिनीले लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीले लुम्बिनी र बुद्धिजमलाई दुई देशको सम्बन्धको प्राथमिकतामा राख्न सके नेपालले लाभ लिन सक्ने बताए ।
कुनै पनि मुलुकले आर्थिक विकासमा फड्को मार्न उक्त मुलुकले तय गर्ने कुटनीतिक सम्बन्धका प्राथमिकताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्रिपाठीले नेपालले चीनसंग अन्य विषय भन्दा लुम्बिनी र बुद्धिजमलाई पहिलो प्राथमिकतामा राख्दा चीन सरकार र चिनिया जनताको ध्यान नेपालतिर आकर्षित गर्न सकिने बताए ।
‘चीन र भारतसंगको नेपालको अहिलेको कुटनीतिक सम्बन्ध व्यवसाय–बिजनेसमा आधारित हो’–त्रिापाठीले भने–‘अब नेपाल सरकारले चीनसंगको सम्बन्धको मुख्य आधार लुम्बिनी र बुद्धिजमलाई बनाउनुपर्छ तब मात्र नेपालले चीनबाट प्रशस्त लाभ लिन सक्छ ।’ चीनबाट आर्थिक सहायता भन्दा विज्ञान र प्रविधि नेपाल भित्राउन जोड दिनुपर्ने पनि उनले सरकारलाई सुझाए ।
प्रदेशसभा सांसद फखरुद्दीन खानले लुम्बिनी र बुद्धिजमप्रति चिनियाहरुको अगाध आस्था भएपनि नेपालले त्यसलाई मार्केटिङ गर्न नसक्दा चिनियांहरु लुम्बिनी र नेपाल भ्रमणमा निकै कम संख्यामा आउने गरेको औंल्याए । जनकपुरलाई भारतसंग जोडेर पर्यटन विकास गर्न खोजिए जस्तै लुम्बिनीलाई चीन संग जोड्नुपर्नेमा सांसद खानले सुझाए ।
पुर्व सांसद नेत्र पन्थीले चीनले असल छिमेकीको रुपमा नेपाललाई धेरै क्षेत्रमा सहयोग गरेपनि नेपालले फाइदा लिन नसकेको औंल्याए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले बुद्धिजमका माध्यमबाट नै नेपालले चीनबाट पर्यटक, लगानी र प्रविधि भित्राउन सक्ने औंल्याए ।
प्राध्यापक डा. गितु गिरीले कार्यपत्र प्रस्तुत गर्दै चीनले पञ्चशीलको आधारमा नेपाललाई बिना कुनै हस्तक्षेप र स्वार्थ थुप्रै क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्राध्यापक रामलाल श्रेष्ठले चीनसंग नेपालको १५ सय वर्षदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहिआएको र दौत्य सम्बन्धको ६५ वर्ष पूरा गर्दा समेत सम्बन्धमा तिक्तता नआएको बताए । कुनै विषयमा विवाद आएपनि चीनले उदारतापुर्वक नेपालको राष्ट्रियता र सार्वभौमिकताको सम्मान गरेको श्रेष्ठले औंल्याए ।
नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनले आफ्ना छिमेकी देशहरुसंग शान्ति, स्थायीत्व ,सहअस्तित्व, सहयोग, परस्पर निर्भरता र भातृत्वको सम्बन्ध व्यवहारमा पुष्टी गरेको बताए । उनले चीनले हङकङका सम्बन्धमा लिएको नीतिप्रति नेपाली नागरिकको ऐक्यवद्धता रहेको र वाह्य हस्तक्षेपको विरोध हुने बताए ।
समाजका महासचिव मनिष जोशीले चीनसंग जनस्तरमा सम्बन्ध विस्तारका लागि १८ वर्षदेखि मैत्री समाजले विभिन्न कार्यक्रम गरिरहेको बताए । कार्यत्रलममा समाजका उपाध्यक्ष गोबिन्द रेग्मीले स्वागत गरेका थिए भने निबन्ध प्रतियोगिताका निर्णयक संयोजक प्राध्यापक डिल्लीराज भट्टराईले प्रतियोगिताको नतिजा घोषणा गरेका थिए ।
नेपाल चीन दौत्य सम्बन्धको अवसर पारेर समाजले नेपालको विकासमा चीनको भूमिका विषयक मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता, कोभिड–१९ को कारण मृत्यु भएका विश्वभरका नागरिकको मृत आत्माको चीर शान्ति र विरामीको स्वास्थ्य लाभको कामनासहित मायादेवी मन्दिर परिसरमा एक घण्टा प्रार्थना र लुम्बिनीस्थित एशिएन राजमार्गमा वृक्षारोपण समेत गरेको छ । प्रार्थना कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रैयले सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij