२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

रुपन्देहीमा एमाले ठूलो दल, प्रतिनिधिसभातर्फ कांग्रेस ‘निल’

शनिवार , मंसिर १०, २०७९

भैरहवा, १0 मंसिर ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना सकिएको छ । अन्तिम मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)३ वटा क्षेत्रमा विजयी भएको छ । प्रतिनिधिसभातर्फ सत्तारुढ नेपाली कांग्रेसले कुनै पनि क्षेत्रमा जित्न सकेन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का वरिष्ठ नेता दीपक बोहराबीच कडा प्रतिष्पर्धा भए पनि अन्ततः खाँणलाई पराजित गर्दै बोहरा निर्वाचित भएका छन् ।

पाँचदलीय गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका खाँणलाई एमाले र जसपाको समर्थनमा उम्मेदवार बनेका पूर्वमन्त्री बोहराले पराजित गरेका हुन् ।

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव तथा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा विजयी भएका छन् । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत श्याम श्रेष्ठकाअनुसार विश्वकर्माले २४ हजार ८ सय ७२ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार ३ सय ८ मत ल्याएका छन् ।

विश्वकर्माले एमालेकै पूर्व नेता तथा पूर्वमन्त्री भुसाललाई ३ हजार ५ सय ६४ मतले पराजित गरेका हुन् ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल विजयी भएका छन् ।

पौडेलले लगातार चौथो पटक जित निकालेका हुन् । पौडेल २७ हजार १ सय ४८ मतले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २५ हजार ७ सय ८५ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन प्राएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरले २२ हजार १० मत पाए ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा विजयी भएका छन् । मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराले ३६ हजार ७ सय १७ मतका साथ निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले ३४ हजार ३६ मत ल्याएका छन् । 

रुपन्देही क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । शुक्ल २८ हजार मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७ सय ४ मत पाउनुभएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेले जितेको छ । तिलोत्तमा नगरपालिकाका निर्वतमान प्रमुख (मेयर) बासुदेव घिमिरेले नेपाली कांग्रेसका भरत कुमार शाहलाई पराजित गरेका हुन् । घिमिरे ३६ हजार ८ सय २२ मत पाउँदा शाहले २७ हजार १ सय २० मत पाएका छन् ।

प्रदेशसभातर्फ माओवादी निल

प्रदेश सभातर्फ पनि रुपन्देहीमा एमाले पहिलो दल बनेकोे छ । प्रतिनिधि सभातर्फ कुनै पनि सिट जित्न नसकेको नेपाली कांग्रेसले प्रदेश सभामा भने २ स्थानमा जितेकोे छ । नेकपा एमाले ४, लोसपा २, जनमत र राप्रपाले १÷१ स्थानमा जितेका छन् ।

प्रदेश सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ (क) मा राप्रपाका आशिष चौधरी (१७,७८५ मत), १(ख) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक (२२,१८४ मत) विजयी भएक छन् । रज्जाक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री हुन् ।

रुपन्देही क्षेत्र नम्बर २ मा रहेको प्रदेश सभातर्फको दुवै स्थानमा एमालेले जितेको छ । रुपन्देही–२ (क) मा लिला गिरी (१७,६३२ मत) र भोजराज श्रेष्ठ (१६,२९८) विजयी हुनु भएको छ । गिरी र श्रेष्ठ लुम्बिनी प्रदेशसभा पूर्वमन्त्री हुन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) मा लोसपाका सन्तोष कुमार पाण्डेय (१४,९२८ मत ) तथा ३(ख) मा तुलसी प्रसाद चौधरी (१६,३९४मत)  विजयी हुनु भएको छ । पाण्डेय लुम्बिनी प्रदेशको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् । चौधरी २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर ४(क) मा लोसपाकै कन्हैया बनिया (१५,१५५ मत) र ४(ख) मा नेपाली कांग्रेसका वसीउद्दीन खाँन (११,३०५ मत) विजयी भएका थिए । खान २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भइ लुम्बिनी प्रदेशको शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री भएका थिए ।

क्षेत्र नम्बर ५ (क) मा नेकपा एमालेका भुमिश्वर ढकाल (१९,०७८ मत) र ५ (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता (१२,९४१ मत) विजयी भएका छन् । ढकाल यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।