शुक्रवार , कार्तिक १३, २०८३
भैरहवा, १३ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका बेला प्लाष्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरबासीलाई अपील गरेको छ ।
नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका अवसरमा घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लाष्टिकका फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानमा सहयोग पुर्याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल र माला प्रयोग गर्न सबै नगरबासीलाई आग्रह गरेको छ । प्राकृतिक फूल तथा मालाको प्रयोगले वातावरण संरक्षणमा योगदान पुग्नुका साथै स्थानीय उत्पादनको प्रवद्र्धन र कृषक तथा उद्यमीको आयआर्जनमा समेत सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।
नगरप्रमुख खाँले वातावरण संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन तथा स्वच्छ र सुन्दर सिद्धार्थनगर निर्माणको अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्दै सबैको सक्रिय सहभागीताका लागि अपील गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij