२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

‘शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउनेलाई धन्यवाद’

मंगलवार , मंसिर १३, २०७९

भैरहवा, १३ मंसिर ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइराला र प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कोइराला र प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्ण राजनीतिक दल, उम्मेदवारहरु, निर्वाचन अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रसेवक कर्मचारीहरु, पर्यवेक्षकहरु, नागरिक समाज, आम सञ्चारकर्मी, विभिन्न संघ–संस्था, सीमावर्ती भारतीय समकक्षी जिल्लाधिकारी तथा सुरक्षाकर्मी एवं जिल्लावासी मतदातालाई धन्यवाद दिएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत कोइरालाले जिल्लामा विभिन्न दलका प्रमुख नेताहरु उम्मेदवार रहेका कारण रुपन्देहीको निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट चासोको रुपमा हेरिएको बताए । उनले सुरक्षा प्रत्याभुतिका कारण निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले भने, ‘रुपन्देहीमा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता रहेको थियो । नागरिक समाजबाट ठूलो सहयोग पायौं ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित तवरबाट सम्पन्न भएको बताए । उनले जिल्लामा ६ लाख ३८ हजार ९ सय ५२ जना मतदाता रहेकोमा ४ लाख ३३ हजार ४ सय ४९ जनाले मतदान गरेको अर्थात (६७ दशमलव ६० प्रतिशत) मत खसेको जानकारी दिए । उनले भने, ‘२०७९ कात्तिक १५ गते ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरी सुरु गरिएको निर्वाचन प्रक्रिया पूर्ण रुपमा सम्पन्न गर्न संघ, प्रदेश, स्थानीय तहका कर्मचारी, संस्थान तथा शिक्षक कर्मचारी र स्वयंसेवक समेत गरी ८ हजार ४ सय २४ जना राष्ट्रसेवक कर्मचारी खटाइएको थियो ।’

निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना, २०७९ को आधारमा जिल्ला सुरक्षा समितिबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना, २०७९ स्वीकृत गरी सो को प्रभावकारी कार्यान्वयन गरिएको उनले बताए । शान्ति, सुरक्षा, अमनचयन तथा भयरहित वातावरण कायम राख्न नेपाल प्रहरीबाट १ हजार ७ सय २६ जना सुरक्षाकर्मी, ३ हजार ९५ जना म्यादी प्रहरी, ८ सय ८८ जना सशस्त्र प्रहरी र नेपाली सेनाबाट आवश्यकता बमोजिम सुरक्षा जनशक्ति खटनपटन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । उनले भने, ‘मंसिर ४ गते मतदान सम्पन्न भएपश्चात मतपेटिका गणनास्थलसम्म  पुर्‍याउन तयार गरिएको मतपेटिका ढुवानी योजना, २०७९ बमोजिम समयमै सुरक्षित तवरबाट मतपेटिका ढुवानी गर्ने कार्य सम्पन्न भयो, मंसिर ५ गते बिहानबाट मतगणना सुरु गरिएकोमा ११ गते बेलुका ५ बजे (सात दिनमै) मतगणना कार्यसम्पन्न भयो ।’

मुख्य निर्वाचन अधिकृत कोइराला र प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित सम्पूर्ण विजेताहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।