बुटवल, १६ मंसिर ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरभित्र रहेका मातहतका स्वास्थ्य संस्थाहरुले सेवा प्रवाह गर्दा वृद्ध अवस्थाका, असहाय तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्न आग्रह गरेका छन् ।
बुटवल उपमहानगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिमको शुभकामना गर्दै प्रमुख पाण्डेयले बुटवलभित्र कुन क्षेत्रमा कुन समस्याका बिरामीहरू छन् त्यसको सम्पूर्ण विवरण आउने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाइ आग्रह गरे । यही विवरणका आधारमा उपमहानगरले आवश्यक कार्यक्रम एवं बजेट विनियोजन गरिने उनले बताए । उनले ६५ वर्ष कटेका वृद्धवृद्धालाई मासिक रुपमा घरमा पुगेरै सेवा दिने गरी सेवा दिने योजना रहेकोले सोही अनुसार कामहरू गर्नको लागि आग्रह गरे।
उपप्रमुख सावित्रादेवी अर्यालले जनताको नजिक रहेर काम गर्ने व्यक्तिहरूलाई यो तालिम आवश्यक रहेको बताउँदै जनताका कामहरू गर्दा हेलचेक्राई नगर्न आग्रह गरिन् । उनले स्वास्थ्यकर्मीले दिने सेवाले जिउधनकै सवालमा कुरा हुने भएकोले ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलका कुन क्षेत्रका व्यक्तिमा कस्ता समस्या छन् भन्ने कुराको सही प्रविष्टि गरिदिन आग्रह गरे । उनले परिवर्तन भएको प्रणालीमा सबै डाटा राखेर सही सूचना उपलब्ध गराउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा गलत तथ्यांक हुँदा समस्या हुँदा यो तालिम सुरु गरिएको बताए । उनले परिवर्तित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको बारेमा रिपोर्टिङ टुल्सको क्षमता अभिवृद्धि तालिम दिइएको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक कल्पना भुसाल, उपमहानगर नर्सिङ निरीक्षक प्रज्ञा भट्टराई लगायतले प्रशिक्षण दिनेछन् । तालिमको सहजकर्ता शंकर अधिकारी रहेका छन् ।
तालिममा शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, सामाजिक संयोजक प्रदीप कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।
तालिममा बुटवल उपमहानगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र) का ३० जना कर्मचारीलाई तालिम प्रदान गरिएको हो । स्वास्थ्य संस्थाहरुमा ८० जना कर्मचारी रहेका छन् । बिहीबारदेखि सुरु भएको तालिम मंसिर १७ गतेसम्म चल्नेछ ।