२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

प्रतिनिधिसभा सदस्य घिमिरेको सम्पर्क कार्यालय स्थापना

आइतवार , मंसिर १८, २०७९

भैरहवा, १८ मंसिर ।
रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नम्बर २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर त्यसको  समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद् घिमिरेले सम्पर्क कार्यालय स्थापना गरेका हुन् । सम्पर्क कार्यालय रामापुर—लुम्बिनी सडकको कञ्चन नदी पुल नजिकैं रहेको छ ।

आइतबार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद् घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताउँदै उनले क्षेत्र नम्बर ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ-संस्थालगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गरे ।

क्षेत्र नम्बर ५ का बासिन्दाले दिएको विकास, समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारीलाई सदैव ईमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्र नम्बर ५ को समग्र विकास गरिने स्पष्ट पारे । कार्यक्रममा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, उपेन्द्र अधिकारी लगायतले बोलेका थिए ।

तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता भरत कुमार शाहलाई ९ हजार ७ सय ८२ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो बनेको छ ।