२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा चल्यो अवैध संरचनामाथि डोजर 

आइतवार , मंसिर २५, २०७९

भैरहवा, २५ मंसिर । 
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डोजर चलाउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटकपटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि केही सर्वसाधारणले नमानेपछि पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो ।

यस्तै आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटाको घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ । नौडिहवा टोल विकास समितिले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरी उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए ।
सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए । उनले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्र्तगत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भए आफूहरुलाई सूचना दिन आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिकाको नक्सा शाखा प्रमुख इञ्जिनियर मान प्रसाद श्रेष्ठले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नाँप जाँच पश्चात एकिन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन् । उनले सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाहरुको साथ, सुझाव÷सल्लाह आवश्यक रहेको बताइन् । ‘हामीहरु कसैले निर्माण गरेको घर/संरचना भत्काउन चाहदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह गर्छौ’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘यदि हाम्रो आग्रहलाई वेवास्ता गरेर सार्वजनिक जग्गा मिचेर संरचना बनाइन्छन् भने नगरपालिकाको कार्यालय नियमानुसार अघि बढ्छ ।’ सार्वजनिक जग्गा, कुलो लगायत मिचेर कसैले संरचना निर्माण गरेको भए आफै भत्काउन आग्रह गर्दै डोजर पुगेको अवस्थामा नगरपालिकाको कार्यालयले नियमानुसार अघि बढ्ने उनले बताए ।