
बिहिवार , मंसिर २९, २०७९
भैरहवा, २९ मंसिर ।
लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बिहीबार सम्मान तथा बधाई ज्ञापन गरेको छ । रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले खादा ओढाएर सम्मान गरेका हुन् ।
सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचित वासुदेव घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबैपक्षविच हातेमालो जरुरी रहेको बताए । उनले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने बताउँदै कोषको गुरुयोजना सम्पन्न गर्नका लागि संघीय सांसद्को रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । लुम्बिनी भित्रको विकाससँग स्थानीय नागरिकलाई जोडेर विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा रुपन्देही–५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सिके गुप्ताले लुम्बिनीको विकासका लागि जनप्रतिनिधिका रुपमा आफू सहयोग गर्न तयार रहेको बताए । उनले लुम्बिनीमा अस्पतालको आवश्यकता रहेकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी) ले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि साढे ७ अर्बको बजेट आवश्यक रहे पनि एकमुष्ट बजेट नछुट्दिा निर्माण ढिलाइ भइरहेकाले यसमा पहल गर्न सांसद्हरुको ध्यानार्कषण गराए । उनले लुम्बिनी क्षेत्रमा अन्र्तराष्ट्रियस्तरको अस्पताल र गुणस्तरीय बौद्ध शिक्षा दिने शिक्षालयको आवश्यकता रहेकाले यसतर्फ संघीय र प्रदेश सांसद्हरुले आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आफूहरु लुम्बिनीको विकासमा नयाँ काम गर्न चाहेको बताउँदै त्यसका लागि नवनिर्वाचित सांसद्हरुसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लुम्बिनी सुरक्षित, सुन्दर र बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउन गरी मिलेर काम गर्न सकिने बताए ।
कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजनाअनुसारका निर्माणहरु भइरहेको बताउँदै पर्याप्त बजेटका लागि पहल गरिदिन आग्रह गरे । उनले गुरुयोजनाका लागि बजेटको सुनिश्चिता भए पनि वर्षमा १ अर्बको हाराहारीमा मात्रै बजेट छुट्याउदा गुरुयोजनाको कामले गति लिन नसकेको बताए।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धीन खान, लुम्बिनी–३ का वडाअध्यक्ष अकरामुद्दीन मुसलमानले लुम्बिनीभित्र मात्रै नभइ बाहिरी क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताए । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी विकास कोषको प्राथमिकता र बौद्ध सर्किटका बारेमा जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij