२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

छाडा चौपाया व्यवस्थापन गर्दै सिद्धार्थनगर नगरपालिका

सोमवार , पौष ४, २०७९

भैरहवा, ४ पुस ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाई‐गोरु) व्यवस्थापन गर्न सुरु गरेको छ ।

छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेकोले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया (गाई‐गोरु)  व्यवस्थापन गर्न सुरु गरेको नगरप्रमुख ईश्तियाक अहमद खानले बताए ।

‘छाडा छाडिएको गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ’ उनले भने, ‘सुन्दर नगर बनाउनमा नगरवासीले पालेका गाई गोरु पनि अबदेखि छाडा नछाडने हामी विश्वस्त छौँ ।’

अन्य पालिका, खुल्ला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्यकरणका लागि लगाइएका फूल विरुवा, धानखेत लगायतमा नोक्सानी भएको छ ।

भारतबाट छाडा गाई गोरुको प्रवेश नियन्त्रणका लागि सशस्त्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । तत्कालका लागि छाडा चौपायालाई एकत्रित गरेर राख्न व्यवसायी कृष्ण प्रसाद शर्माले होलिडङ सेन्टको रुपमा जग्गा उपलब्ध गराएका छन् ।

नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने उनले बताए । उनका अनुसार केन्द्रले उक्त चौपायाहरुको स्वास्थ्य स्थिति लगायत अवस्थाबारे नगरपालिकाको कार्यालयलाई जानकारी समेत गराउनेछ ।

नगरपालिकाको कार्यालयले वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामीत्मा रहेको जग्गामा कान्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बताइन् । उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिने उनले बताइन् । केही नगरवासीले गाई गोरु दिउँसो गोठमा राखेर साँझ छाड्ने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न उनले आग्रह गरिन् ।

‘नगरपालिकाको मुख्य समस्यामध्ये एक छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरिसकेका छौँ’ नगरप्रमुख खानले भने, ‘अर्को फोहरमैला व्यवस्थापनका लागि पनि गृहकार्य भइरहेकोले त्यो पनि छिट्टै समाधान हुन्छ ।’ नगर क्षेत्रमा देखिएका समस्या क्रमशः प्राथमिकताका आधारमा समाधान गर्दै लगिने उनको भनाइ छ ।