
सोमवार , पौष ४, २०७९
भैरहवा, ४ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’ नगरप्रमुख इश्तियाक अहमद खानले भने, ‘त्यसैअनुरुप गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।’ उनले यस निर्णयले सुरुवाती चरणमा व्यवसायी र गुट्खा पारखीहरुलाई समस्या जस्तो अनुभुति हुन सक्ने भएपनि यसले नगर सुन्दर र सफा राख्न मद्दत पुग्ने बताए ।
नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गर्दै भनेको छ‐ ‘सो अवधी (३५ दिन) पश्चात पनि गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्रीवितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइनेछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij