
शुक्रवार , पौष ८, २०७९
भैरहवा, ९ पुस ।
रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ ।
सियारी गाउँपालिका–४ दयानगरस्थित पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता शुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले सियारीलाई शैक्षिक हबको रुपमा विकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनुपर्नेमा जोड दिए । उनले शैक्षिक महोत्सवले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विद्यार्थीहरुलाई सैद्वान्तिक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनुपर्ने बताए ।
महोत्सवमा पालिकाभित्रका ४० विद्यालयका १ सय २ जना खेलाडीले विभिन्न विधाका खेलमा भाग लिएका छन् ।
सियारीभित्र २५ सामूदायिक, १२ संस्थागत र ३ धार्मिक विद्यालयमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
महोत्सवको उद्घाटन समारोहमा विद्यार्थीहरुले विभिन्न भेषभुषामा सजिएर मार्चपास गरेका थिए भने विभिन्न साँस्कृतिक प्रस्तुती समेत प्रर्दशन गरेका थिए । महोत्सवमा विद्यार्थीहरुले तयार गरेका शैक्षिक तथा विज्ञान प्रर्दशनी गरिएको छ ।
सियारी गाउँपालिकाको आयोजनामा भएको शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक तथा शारीरिक क्षमता अभिवृद्धि तथा उनीहरुको प्रतिभा प्रस्फुटन गर्न ठुलो सहयोग गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।
शैक्षिक महोत्सवमा बौद्धिक तथा शारीरिक खेलकुदका कार्यक्रम समावेश गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अंग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंगजम्प, भलिवल, कबड्डी लगायतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र प्रमुख टीकाराम अर्याल, पब्लिक माविका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।
पुस १४ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरु पब्लिक मावि, जनता माविमा हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij