
मंगलवार , पौष १२, २०७९
बुटवल, १२ पुस ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सुरु गरेको छ । नापजाँचको काम सकिएको अव्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपूर्जा ( लालपूर्जा) वितरण सुरु गरेको हो । आयोगले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाबाट लालपूर्जा वितरण सुरु गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो ।
बुटवल वडा नम्बर १९ का १२ र मायादेवी वडा नम्बर ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्बासी तथा भूमिहिन रहेको बताउँदै उनले अहिले ३ हजार जग्गाधनीको लालपूर्जा तयार भएको बताए । जिल्लाको बुटवल देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापँजाच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए । लालपूर्जा तयार भए पनि सरकारले लिने राजस्व बढी हुँदा जग्गाधनी प्रमाणपूर्जा वितरणमा कठिनाइ भईरहेको बताउँदै उनले सरकारले राजस्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापँचाज भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए । जनतालाई जग्गाको मालिक हुने अधिकार संविधानमा नै व्यवस्था भएका कुरालाई ऐन नियमबाट लागू गर्दै आयोगले काम गरेको उनले बताए । निर्वाचन अघि नै लालपूर्जा तयार भएको बताउँदै निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकेको निरौलाले बताए । भूमि आयोग र स्थानीय तहको समन्वयबाट नै जग्गाको नापँचाज हुँदै लालपुर्जा वितरण सम्भव भएको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अव्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापजाँच भएका जग्गाको विधि, प्रक्रिया कानूनअनुसार लालपूर्जा वितरण गरिएको बताए । बुटवलमा अव्यवस्थित बसोबासीको समस्या धेरै रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तीव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनुपर्नेमा उनले जोड दिए । बुटवलमा करिब ३० हजार जना अव्यवस्थित रुपमा बसोबास गरिरहेको बुवटल उपमहानगपालिकाले जनाएको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष चोक बहादुर थापाले भूमि आयोगले तीव्र गतिमा काम गर्दा नै अव्यवस्थित भएकालाई व्यवस्थित गराउन सफल भएको बताए । आयोगका विज्ञ सदस्य बद्रे आलमले निर्वाचन आचारसंहिताले गर्दा काम गर्न ४ महिना ढिलाइ भएको बताउँदै रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तीव्रता दिएको बताए । रुपन्देहीका ८ वटा पालिकाकामा नापी र श्रेष्ता पूर्जाको काम भइरहेको उनले जानकारी दिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का कार्यवाहक सभापति फर्सुराम ढकालले अव्यवस्थित बसोबासीलाई प्यवस्थित गर्नको लागि सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य ऋषिराम पाण्डेयले आयोग गठन र विघटनको खेलले गर्दा लामो समयदेखि बसोबास गरेका जग्गाधनीले लालपूर्जा प्राप्त गर्न नसकेको गुनासो गरे ।
नेकपा (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला अध्यक्ष निर्मल जि.सी.ले अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि सरकार गम्भिर भएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका टामबहादुर खत्री, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोबिन्द खनाल, नापी अधिकृत कपिल ज्ञवाली, जग्गाधनी माया पाण्डे लगायतले बोलेका थिए । अव्यवस्थित बसोबासमा रहेका स्थानीयले जग्गाधनी पाउँदा खुशी भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij