२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नागरिक संवाद केन्द्रमा न्यायीक समितिको क्षेत्राधिकारबारे छलफल

बुधवार , पौष १३, २०७९

बुटवल, १३ पुस । 
नागरिक संवाद केन्द्र बुटवलको आयोजनामा न्यायीक समितिको क्षेत्राधिकार र न्यायीक प्रक्रियाको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाले पाँच वर्षमा गरेको न्यायिक समितिको क्षेत्राधिकार र न्यायीक प्रक्रियाको विषयमा छलफल गरिएको हो ।

नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवलले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकी निवर्तमान उपप्रमुख गोमा देवी आचार्यले कानून बुझेर कानुनलाई पूृर्ण रूपमा कार्यान्वयन गर्न सके मात्र सभ्य समाज निर्माण गर्नका निम्ति सहज हुने बताइन् । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाको न्यायीक समितिले पाँच वर्षमा भए गरेका काम विषयमा छलफल गर्दै उनले बुटवल उपमहानगरपालिकाको इजलास नमूना इजलास भएको बताउँदै न्यायीक समिति भनेको स्थानीय अदालत पनि भएको हुँदा यसमा विभिन्न अवसर र चुनौतीहरू पनि रहेको उनले बताइन् । बुटवल उपमहानगरपालिकामा औपचारिक रूपमा इजलास सुरू भएपछि आएका विवादहरू न्यायिक समितिमा दर्ता दफा ४७.१ ४७.२ मध्ये ६९ विवाद (१) अन्तरगत र अरू (२) अन्तरगत विवाद गरी जम्मा ४०३ विवाद परेको उनले बताइन् । जसमा घरेलु हिंसासँग जोडिएका विवाद, अपांगता भएका व्यक्तिका विवाद, बाटोको विवाद, ज्याला मजदुरीका विवाद, घरवहालसम्बन्धि विवाद, ध्वनी प्रदुषणसम्बन्धि विवादका मुद्दाहरू परेकामा सहज रूपमा नै मिलाउन सकिएको आचार्यले बताइन् । 

नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवलले आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दलहरुका प्रतिनिधिहरु, कानून व्यवसायी, टोल विकास समिति संस्थाका प्रतिनिधिहरू,शिक्षक, कानुनका विद्यार्थीहरूसहितको सहभागिता रहेको थियो ।

संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवालासँग छलफल गरी कानून निर्माणमा सहयोग पुर्याउने नागरिक संवाद केन्द्र लुम्बिनी प्रदेश बुटवलकी प्रमुख हेमा न्यौपानेले बताइन ।