
शनिवार , पौष १६, २०७९
भैरहवा, १६ पुस ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले सत्तामा हुँदा र नहुँदा पनि कांग्रेस मुलुकको निर्णायक शक्ति भएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार भैरहवास्थित पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खाणले मुलुकलाई अप्ठ्यारो पर्दा नेतृत्व सम्हाल्ने कांग्रेस भएको बताए । उनले कांग्रेसको लागि सत्ता भन्दा पनि लोकतन्त्र, प्रजातन्त्र बलियो बनाउँदै सबिधानको रक्षा गर्नु मुख्य जिम्मेवारी रहेको र यसको लागि कांग्रेस सधै अडिग रहेको बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी र राष्ट्रलाई बलियो बनाउन महामानव वि.पी. कोइरालाले ल्याएको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिए । उनीहरुले कांग्रेसभित्रको गुट–उपगुट अन्त्य गरी पार्टीलाई बलियो बनाउन नेताहरु एकआपसमा मेलमिलाप गरेर अगाडि बढ्नुपर्ने बताए । अब पार्टी मेलमिलाप दिवस पनि मनाउनुपर्ने उनीहरुले बताए ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य गंगा शाही, लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, कांग्रेस पूर्व जिल्ला सभापति सभापति रामचन्द्र ढकाल, सचिव हरि काफ्ले, परमान्द भट्टराई, वरिष्ठ पत्रकार दिलिप भट्टराई लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij