२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चौपाया गाडीमा घिसार्दै लगिएको भन्दै फैलाइएको भ्रममा कुनै सत्यता छैन : सिद्धार्थनगर नगरपालिका

बिहिवार , पौष २१, २०७९

भैरहवा, २१ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्ने कार्य असल मनसायबाट गरिएको भए तापनि यसबारे भ्रम फैलाइएको बताएको छ । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी नगरपालिकाले पशु अधिकारप्रति नगरपालिकाको कार्य उत्तिकै संवेदनशील भएको जनाएको हो । छाडा चौपायालाई व्यवस्थापन गर्ने क्रममा बुधबार राती साँढेलाई गाडीमा बाँधेर रक्ताम्मे बनाउँदै र घिसार्दै लगिएको भन्दै सामाजिक सञ्जालमा तस्विर सार्वजनिक भएपछि नगरपालिकाले भ्रम फैलाइएको र भ्रममा कुनै सत्यता नरहेको दावी गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले छाडा चौपाया व्यवस्थापनको नाममा पशुलाई घिसार्दै लगेको भन्ने फैलाइएको भ्रममा कुनै सत्यता नरहेको बताए । उनले नगरबासीमा पर्न गएको असुविधाप्रति र पशु अधिकारप्रति समेत नगरपालिका उत्तिकै संवेदनशील रहेको स्पष्ट पारे । नगरप्रमुख खानले भने, ‘छाडा चौपाया व्यवस्थापनमा नगरबासीबाट प्राप्त सहयोगका लागि नगरपालिका कार्यालय आभार व्यक्त गर्दछ ।’

नगर उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाको टीम एकढिक्का रहेको बताइन् । उनले भनिन्, ‘काम गर्दै जाँदा कहिलेकाहीं त्रुटी हुन्छ । काम गर्दैछौं, व्यवस्थापन गर्न समय लाग्छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले फोटोमा रगत जस्तो देखिए पनि त्यो रगत नभइ ट्रकको बत्तीको प्रतिबिम्ब भएको दावी गरे । नगरपालिकाले घटनाको सीसीटिभी फुटेज पनि सार्वजनिक गरेको छ । फुटेजमा साँढे हिँड्दाहिँड्दै बसेको देखिन्छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले नगरपालिकालाई बदनाम गर्न खोजिएको बताए । उनले भने, ‘नगरपालिका कार्यालयको प्रांगणभित्रै चार दिनसम्म व्यवस्थित गरी राखिएको साँढेलाई अस्थायी कान्जी हाउससम्म लैजाने क्रममा नगरपालिका कार्यालयको भवनबाट करिब ६०/७० मिटरसम्म साँढे हिंडेकोमा सो पश्चात बीच सडकमा एक्कासी बसेर हिड्न इन्कार गरेको र उठाउन प्रयास गर्दा समेत नउठेको तथा सडकमा सुतिरहेको अवस्थाको तस्विर खिचेर सामाजिक संजालमार्फत नगरपालिकाको कार्यालयले छाडा चौपाया व्यवस्थापनको नाममा पशुलाई घिसार्दै लगेको भन्ने फैलाइएको भ्रमममा कुनै सत्यता नरहेको स्पष्ट पार्दछौं । ’ उनले हिड्न नमानी सडकमा साँढेको घाँटीमा बाँधिएको डोरी तत्कालै काटेर छाडिएको र उक्त साँढे डोरी काटेपश्चात तत्कालै उठेर हिंडेको जानकारी दिए । उनले पुस ३ गतदेखि नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्दै आएको बताए । नगरभित्र रहेका छाडा चौपायाहरुलाई देवकोटा चोकस्थित अस्थायी कान्जी हाउसमा होल्ड गरी पश्चिम नवलपरासीको बर्दघाटस्थित राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गर्दै आइरहेको उनले बताए ।

पुस २० गतेसम्म १२३ वटा छाडा पशु चौपाया राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थित गरिसकिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।