
बिहिवार , पौष २८, २०७९
भैरहवा, २८ पुस ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का युवा नेता रवि कुमार रौनियारले पार्टी परित्याग गरेका छन् । जसपा पूर्व लुम्बिनी प्रदेश सदस्य रौनियारले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको बताएका छन् ।
बुधबार जसपा लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्षलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका छन् । २०७७ पुस १९ गते जसपामा प्रवेश गरेको र आफूसहित ३७७ जना सम्पूर्ण पदबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको रौनियारले जानकारी दिए ।
हालै सम्पन्न निर्वाचनमा क्षेत्र तथा जिल्लाले सिफारिस गरेर पठाएको नामलाई वेवास्ता गर्दै सिफारिस नै नगरिएको व्यक्तिलाई गुटको आधारमा टिकट वितरण गरिएको उनले आरोप लगाए । उनले भने, ‘२०७९ पुस २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन बिदा दिएकोमा केन्द्रीय अध्यक्षज्यू र लुम्बिनी प्रदेश इञ्चार्जद्वारा कडा विरोध जनाउँदै गरेकोमा पुस २६ गते फेरी आफैले विरोध गरेको सरकारलाई पूर्ण समर्थन गरी विश्वासको मत दिने विषयले पार्टीको नीति तथा आगामी राजनीतिक कार्यदिशा समेत बाझिएको देखिन्छ, फरक विचारको पनि सम्मान गर्नुपर्छ भन्ने पार्टीको राजनीतिक संस्कार रहेकोमा वरिष्ठ नेताज्यूहरुबाट नै उल्लंघन भएको छ ।’
विगतका दिनमा महसुस गर्न चाहेको पार्टीको आन्तरिक लोकतन्त्र, विभेदमुक्त निर्णय तथा नीतिगत विचार पार्टीका जिम्मेवार पदाधिकारीहरुबाट मनन गर्न नसक्नु दुःखद भएको रौनियारको भनाइ छ ।
उनले भने, ‘संसद् विघटन हुँदा पार्टी नेतृत्वले तत्कालिन सरकार प्रमुख केपी शर्मा ओलीसहित नेकपा एमालेलाई संविधानको उल्लंघन गरी लोकतन्त्रको हत्या गरेको आरोप लगाएर पाँचदलीय सत्ता गठबन्धनको एक घटक दल भएर निरन्तर “प्रतिगामी कदम” भन्दै विरोध र प्रदर्शन गर्दै रह्यो तर निर्वाचनको मुखमा आएर एकाएक आफैले चरम विरोध गरेको दलसँग तालमेल गरेको देख्दा पार्टी नेतृत्वले राजनैतिक लाभको लागि आफ्नो विचार स्खलित गरेको देखिन्छ, जसलाई हामीले असामान्य घटनाको रुपमा लिएका छौं । ’ रौनियारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आफूले राजनीतिक यात्रा सुरु गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij