
बिहिवार , पौष २८, २०७९
भैरहवा, २८ पुस ।
सिद्धार्थनगर नगरपालिका नगर सभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सभामा नगरका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नतर्फ ध्यान दिने बताए ।
उनले सभामा नगरमा विभिन्न स्थानमा स्मार्ट लाइन जडान गर्ने कार्यदेखि लिएर नगरको सौन्दर्यकरणको लागि ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा अनाधिकृत रुपमन सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्य सम्मको सुरुवात भएको जनाए ।
उनले कार्यभार सम्हालेको ७ महिना मात्र पुगेको बताउँदै सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुले विस्तारै गति लिदै गएको तथा नगरवबासीले अनुभुत गर्ने गरी विकासका प्रतिफलहरु समयक्रमसँगै प्राप्त हुने विश्वास व्यक्त गरे ।
त्यस्तै सभाले करको क्षेत्र थप गर्ने सम्बन्धित विषय सर्वसम्मतले पारित गरेको छ । सभाले आर्थिक ऐन २०७९ को दफा ६ सँग सम्बन्धित अनुसूची ६ मा अन्य व्यवसायतर्फको शिर्षकमा भन्सार कार्यालयमा गोदाम तथा मालवाहक गाडीहरुको व्यवस्थापन गर्ने उद्देश्यको व्यवसाय गर्ने फर्मबाट प्रति सवारीसाधन वापत १ रुपैयाँ करको दर कायम गरेको छ ।
त्यस्तै सभाले बजेट रकमान्तर तथा कार्यक्रम संशोधन सम्बन्धमा छलफल गरी बजेट रकमान्तर तथा कार्यक्रम संसोधन सर्वसम्मतले पारित गरेको नगरप्रमुख इश्तियाक अहमद खानले बताए । नगरप्रमुख खानले सभालाई सम्बोधन गर्दै इमान्दारीपूर्वक जनहितमा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
उप्रमुख उमा अधिकारीले नगरको विकासका लागि कर्मचारी र जनप्रतिनिधिहरु एक भएर अघि बढेको र आगामी दिन पनि मिलेर अघि बढ्ने बताइन् ।
सभामा नगर प्रमुख खान, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडाअध्यक्षहरु, सदस्यहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij