
शनिवार , पौष ३०, २०७९
भैरहवा, ३० पुस ।
रोहिणी गाउँपालिका, रुपन्देहीको १२ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । रोहिणी–३, धकधईस्थित सरस्वती थर्कबहादुर रायमाझी सेवा फाउण्डेशन धर्मशालामा गाउँसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । उनले जनसरोकारका विषयमा मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । ’उनले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका सचिव समेत रहेका नेता विश्वकर्माले धरासायी बनेको मुलुकको अर्थतन्त्र सुधार गरेर अघि बढ्नुपर्ने बताए । नयाँ सरकार गठन भएपछि जनता तथा उद्योगी व्यवसायी आशावादी हुने परिस्थिति बनेको उनको भनाइ थियो ।
‘रोहिणी गाउँपालिकामा क्याम्पस बनाउनुपर्ने आवश्यकता रहेको छ । उनले भने, ‘विद्यार्थीहरुले आफ्नै घरदैलोमा उच्च शिक्षा हासिल गर्न पाउनुपर्छ ।’ नेता विश्वकर्माले जस पाउने होडबाजीमा जनताले पाउनुपर्ने अवसरबाट वञ्चित गर्न नहुने बताए । उनले रोहिणी नदीको संरक्षण, विकास र प्रवद्र्धन आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले स्थानीय सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिए । उनले सिंहदरबारको अधिकार गाउँमा भनिए तापनि स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाइसकेको अवस्था नरहेकाले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘किसानले आवश्यक परेको बेला मल पाउन नसकेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्छ । ’नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता रज्जाकले कृषकलाई अनुदान भन्दा पनि आवश्यक परेको बेला मल चाहिएको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य आशिष कुमार चौधरीले यस क्षेत्र र जनताको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाको समस्या समाधानका लागि साझा रुपमा पहल गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका चौधरीले भने, ‘रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउँछौं । आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले गाउँपालिका भवन निर्माणलाई रोहिणीलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘रुपन्देहीमा नयाँ काम गर्नुपर्छ ।’
जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व प्रमुख एकराज विश्वकर्माले गाउँपालिकाको भवनका लागि जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा हस्तान्तरण गरिएको बताए । उनले भने, ‘गाउँपालिकाको भवन छिटो निर्माण गर्नुपर्छ ।’
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, क्याम्पस सञ्चालनलाई जोड दिने बताए । उनले स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाउन नसकेको बताए । उनले भने, ‘रोहिणीको छुट्टै इतिहास छ, रोहिणी नदी बुद्धसँग सम्बन्धित छ, रोहिणीलाई नमूना गाउँपालिका बनाउँछौं । ’विकासका लागि तीनै तहको सरकार समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका भवनलाई पूर्णता दिन आग्रह गरे । उनले आफ्नो पाँचवर्षे कार्यकालमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख, उपप्रमुखबाट निरन्तर सहयोग र साथ पाएको बताए । उनले भने, ‘सबैलाई समेटेर जानुपर्छ ।’
राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीले जनताको प्रतिनिधि भइसकेपछि एउटा पार्टी मात्र नभइ सबैको हुनुपर्ने बताए । उनले जनप्रतिनिधिले जनताको सुखदुःखमा समर्पित भएर काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव बैजनाथ सहानीले कृषिमा उपलब्धी देखिने खालको नीति बनाउनुपर्ने बताए । उनले रोहिणीको उत्पादन अन्य क्षेत्रमा समेत पठाउन सक्ने गरी कार्यको थालनी गर्नुपर्ने बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले समग्र विकासको आवश्यकता रहेकोमा जोड दिए । उनले क्याम्पस सञ्चालन गर्नुपर्ने बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता, रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, प्रवक्ता वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
पूर्व गाउँपालिका अध्यक्षसहित विभिन्न व्यक्ति सम्मानित
यसैबीच रोहिणी गाउँपालिकाले १२ औं गाउँसभामा गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवलाई सम्मान गरेको छ । गाउँपालिका भवन निर्माणका लागि जग्गा प्राप्तीमा सहयोग गरेको भन्दै यादवलाई सम्मान गरिएको हो।
त्यस्तै गाउँपालिका भवन जाने सडकका लागि निःशुल्क जग्गा प्रदान गरी सहयोग गर्ने विष्णु प्रसाद चौधरी, इसरावती भुज, रामवृक्ष कोहार, रोहित चौधरी र प्रहलादे कोहारलाई सम्मान गरिएको थियो ।
त्यसै गरी प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यमा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आशिष कुमार चौधरी, क्षेत्र नम्बर १ (२)बाट निर्वाचित अब्दुल रज्जाक, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, पूर्व प्रमुख एकराज विश्वकर्मा र पूर्व उपप्रमुख पशुपतिनाथ यादवलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij