
बुधवार , श्रावण १४, २०७७
भैरहवा, १४ साउन ।
जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा बुधबारदेखि जेसीज सप्ताह–२०२० सुरु भएको छ । बुधबार सप्ताहको समुद्घाटन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको छ ।
बुधबार जेसीज सप्ताहको पहिलो दिन लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहका १९ जना बालबालिकालाई झोला, कापी, जेमेट्री बक्स, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक गोपाल ज्ञवालीले बताए ।
सप्ताहको समुद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले भैरहवाको समृद्धि र विकासमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले शिक्षा, खेलकुद, स्वास्थ्य जस्ता महत्वपूर्ण विषयलाई समेटेर जेसीआई सिद्धार्थले जेसीस सप्ताह मनाउने कार्य सराहनीय रहेको बताए । नगरप्रमुख अधिकारीले सिद्धार्थनगरमा संस्थाको चाङ भए पनि केही संस्थाले उदाहरणीय कार्य गर्दै आएको बताए । सिद्धार्थनगरको विकासको लागि काम गर्ने जुनसुकै संघ–संस्थाको लागि नगरपालिकाको ढोका खुल्ला रहेको उनको भनाइ थियो ।
जेसीआई नेपाल वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष सिनेटर राकेश गुरुङले जेसीज सप्ताह महाउत्सव जस्तै भएको बताए । उनले जेसीज सप्ताहमा दिगो विकासका लक्ष्यहरु अन्तर्गतका कार्यक्रमहरु समेटिएको बताए ।
शिक्षाविद् बालकृष्ण भट्टराईले परिवेश बदलिएसंगै मानिस पनि बदल्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले जेसीजसहित अन्य संघ–संस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले जेसीजबाट अन्य संघ–संस्थाले पनि सिक्नुपर्ने बताए ।
जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीको अध्यक्षता, कोषाध्यक्ष दिपक सापकोटाको आस्था पाठ, जेसीआई सप्ताह निर्देशक ऋषिराम पाण्डेयको स्वागत तथा महासचिव दिपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जेसीज सप्ताह अन्तर्गत साउन १५ गते स्वास्थ्य शिविर, १६ गते मैत्रीपूर्ण फुटसल, १७ गते उद्घोषण तालिम, १८ गते मिनी म्याराथुन दौड, २० गते खुल्ला रक्तदान र २४ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम गरिने जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij