२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आत्मनिर्भर बन्न सिप सिक्दै महिलाहरु

बुधवार , श्रावण १४, २०७७

रुपन्देही, १४ साउन ।
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका महिलाहरुलाई विभिन्न किसिमका सिप सिकाइ रहेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न किसिमका सिपमुलक तालिम सिकाइरहेको हो । 

गाउँपालिकामा जनप्रतिनिधि आइसकेपछि अहिलेसम्म सिलाईकटाई, कढाई, बुटिक, फेसन डिजाईन, ड्राईभिङ, कुक, दोभासे तालिम, महिलाहरुलाई बाध्यवाधन तालिम, अचार बनाउने तालिम, कानुनी सचेतना लगायतका तालिम दिइसकेको गाउँपालिकाले जनाएको छ । 

यसै बीच, सियारी गाउँपालिका वडा नम्बर ५ वनघुसरीमा सञ्चालित तीन महिने निःशुल्क एड्भान्स फेशन डिजाइन तालिम बुधबार समापन गरिएको छ । सियारी गाउँपालिकाको सहयोग र ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि. भैरहवाको व्यवस्थापन तथा आयोजनामा तालिम सञ्चालन भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि रहेका सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले सिकेका सिपलाई व्यवहारमा उतार्न अनुरोध गरे । सिपले आयआर्जन गर्ने वातावरण सिर्जना गर्ने र पारिवारको आयमा वृद्धि गर्ने हुँदा यस खालका तालिम आगामी दिनहरुमा पनि गरिने उनले बताए । कतिपय युवाहरु सिप नभएका कारण दुःख पाउने गरेको र स्वदेशमै रोजगार श्रृजना गर्नका लागि सिपमुलक तालिमको आयोजना गरिएको उनको भनाइ छ । 

जनप्रतिनिधि आइसकेपछि विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको वडाअध्यक्ष थम्मन बहादुर पौडेलले बताए । रोजगारमुलक तालिमले रोजगार तथा स्वदेशी उत्पादनमा वृद्धि हुने उनको भनाइ छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुले निरन्तर काम गरेर उद्यमी गर्नेहरुलाई गाउँपालिकाबाट पुरस्कार दिने कार्यपालिका सदस्य देवकी खरेलले बताइन् । 
ए फोर ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.)ले प्रशिक्षार्थीहरुले काम गर्न थालेपछि बजार व्यवस्थापन गरिदिने बताइन् । 

कार्यक्रममा लेखा अधिकृत नारायण पौडेल, योजना शाखा प्रमुख रोमलाल पुरी, कार्यपालिका सदस्य विष्णु रायमाझी, वडा नम्बर ५ का वडा सदस्य गोरख थारु, वडा सदस्य गीता हरिजन, सामाजिक विकास शाखाकी लक्ष्मी खत्री प्रशिक्षार्थीहरु विमला ढकाल, विष्णु कार्की, दुर्गा तिवारी लगायतले तालिमका बारेमा बोलेका थिए । 

तालिमको प्रमुख प्रशिक्षक नम्रता पचभईया मगरले प्रशिक्षण दिएकी थिइन् । तालिममा सियारी गाउँपालिकाका वडा नम्बर ४ र ५ का २५ जना महिलाहरु सहभागी रहेका थिए ।