२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पोलका तार व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाको ७ दिने अल्टिमेटम

मंगलवार , माघ २४, २०७९

भैरहवा, २४ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको पोलमा टांगिएका तारहरुलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेर सात दिने अल्टिमेटम दिएको छ ।

पोलमा यत्रतत्र टांगिएका इन्टरनेट, विद्युत र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरुप देखिएकोले पोलमा टांगिएका तारहरुको व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुहरुलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

पोलमा सम्बन्धित कार्यालयले वर्षौदेखि यत्रतत्र तार टाँग्दै आएको तर व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा शहर नै कुरुप देखिएको छ । उक्त तारहरु चराले गुँड समेत बनाउने गरेका छन् ।

‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो’, नगरप्रमुख खानले भने, ‘सोही अभियान अन्र्तगत नै पोलमा यत्रतत्र टांगिएका तारहरु पनि व्यवस्थित गर्न लागिएको हो ।’ उनले पोलमा यत्रतत्र टांगिएका तारहरु व्यवस्थित गर्न पटकपटक सम्बन्धित कार्यालयलाई मौखिक रुपमा आग्रह गर्दा पनि व्यवस्थित नभएपछि कार्यालयबाट पत्राचार गरेर ७ दिनभित्र व्यवस्थित गर्न आग्रह गरिएको बताए ।

‘उक्त समयावधीमा पनि सम्बन्धित कार्यालयबाट अव्यवस्थित तारहरुलाई व्यवस्थित नगरिएमा नगरपालिकाको कार्यालय आफै व्यवस्थित गर्नतर्फ लाग्छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘त्यस क्रममा सम्बन्धित सेवाग्राहीहरुलाई असुविधा परेमा सम्बन्धित कार्यालय नै जिम्मेवार रहनेछ ।’

गत पुस १८ गते खबरपात्रो डट कमले ‘सिद्धार्थनगरका विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।