२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

प्यारामाउण्ट माविमा हाजिरीजवाफ प्रतियोगिता

आइतवार , माघ २९, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, २९ माघ । 
    प्यारामाउण्ट अन्तर माध्यमिक विद्यालय जिल्लास्तरीय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । तिलोत्तमा वडा नम्बर १ मा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि हात पारेको हो ।

    प्रतियोगितामा गत सिजनको विजेता न्यू होराईजन बोर्डिङ स्कुल द्वितीय भयो । त्यसै गरी सिद्धार्थ मेमोरियल इङलिस स्कुल तृतीय भयो । ज्ञानपुञ्ज बोडिङ स्कुल र प्रभात बोडिङ स्कुल सान्त्वना हुन सफल भए ।

    विजयी विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसाल, तिलोत्तमा वडा नम्बर १ का वडाअध्यक्ष फर्सुराम गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरभित्र रहेका सामूदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

    विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरुको बौद्धिक क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्लास्तरीय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

    ४० वटा विद्यालयको सहभागीता रहेको प्रतियोगितामा पहिलो चरणमा प्रतिष्पर्धाबाट टप ४ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए भने पूर्वविजेता न्यू होराईजन सिधै टप ५ मा पुगेको थियो ।

    २०५२ सालदेखि हाजिरीजवाफ प्रतियोगिता गर्दै आएको प्यारामाउण्ट माविमा हाल २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।
    प्रतियोगिताको उद्घाटन सत्र शिक्षक दिवाकर पन्थीले गरेका थिए भने शिक्षकहरु अर्जुन बस्याल, कमल ढकाल, मोहन केसी र किसन भट्टराईले हाजिरीजवाफको कार्यक्रम सञ्चालन गरेका थिए ।