२०८३, कार्तिक ९ गते

Oct 26 2026 | २०८३, कार्तिक ९ गते

आजबाट शुरु हुँदै एनपिएलको उत्सव

सोमवार , कार्तिक ९, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौँ, ९ कार्तिक । विश्व क्रिकेटका चर्चित खेलाडीलाई नेपाली मैदानमा हेर्ने समर्थकको उत्साहबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण शुरु हुँदैछ ।

    तर प्रतियोगिता शुरु हुनै लाग्दा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने प्रक्रिया रोकेको चर्चासँगै एनपिएलका केही फ्रेन्चाइज टोलीको योजना प्रभावित हुने देखिएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेलसँगै एनपिएलको तेस्रो संस्करण शुरु हुँदैछ । उक्त खेल साँझ ५ः३० बजे कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदान हुनेछ ।

    विश्व क्रिकेटका परिचित खेलाडी र नेपाली प्रतिभाबीचको प्रतिष्पर्धाले यसपटकको लिगलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । तर पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्तिम निर्णय नहुँदा प्रतियोगिता शुरु हुनुअघि नै आयोजक नेपाल क्रिकेट संघ (क्यान) दबाबमा परेको छ । पिसिबीले समयसीमा राखेर प्रतिखेलाडी २५ हजार डलर माग गरिरहेको छ । 

    पाकिस्तानका टी ट्वान्टी कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् । हैदर अली, हुनैन साह, इफ्तिखार अहमद, हसन अली र उसामा मिर पनि एनपिएलमा सहभागी हुने खेलाडीको सूचीमा छन् । तर पिसिबीले एनओसी जारी गर्ने प्रक्रिया रोकेको बताइएपछि उनीहरूको सहभागिता सुनिश्चित हुन सकेको छैन । केही खेलाडी नेपाल आइसकेको अवस्थामा समेत अनुमति रोकिएको चर्चा छ भने अन्य खेलाडीको नेपाल आउने यात्रा निर्णय नहुँदासम्म स्थगित भएको बताइएको छ । 

    विदेशी फ्रेन्चाइज लिग खेल्न सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैले पिसिबीको निर्णयले पाकिस्तानी खेलाडीको सहभागिता प्रत्यक्ष रूपमा निर्धारण गर्नेछ । एनओसी नपाएमा उनीहरूले प्रतियोगिता खेल्न पाउने छैनन् । यसले विदेशी स्टार खेलाडीको उपस्थितिबाट एनपिएलको आकर्षण बढाउने योजनामा समेत असर पार्न सक्छ ।

    प्रतियोगिताको तयारी पूरा भएको घोषणा गरेको क्यानका लागि अब खेलाडीको सहभागिता सुनिश्चित गर्नु अर्को चुनौती बनेको छ । 

    क्रिकेट कुटनीतिको प्रभाव ?

    पाकिस्तानी खेलाडीको एनओसीसम्बन्धी विवादले क्रिकेट प्रशासनबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ । क्यान र पिसिबीबीचको सम्बन्ध राम्रो नरहेको चर्चा भइरहेका बेला यस घटनालाई भारत र पाकिस्तानबीचको क्रिकेट तनावसँग जोडेर पनि हेरिएको छ । नेपाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग निकट रहेको र त्यसले पिसिबीको निर्णयमा प्रभाव पारेको हुन सक्ने अनुमानसमेत गरिएको छ । तर यसबारे कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।

    भारत र पाकिस्तानबीच लामो समयदेखि राजनीतिक तनाव कायम छ । त्यसको प्रभाव क्रिकेटमा समेत देखिँदै आएको छ । दुई देशबीच नियमित द्विपक्षीय क्रिकेट श्रृंखला नहुने र बहुराष्ट्रिय प्रतियोगितामा समेत सम्बन्धित पक्षबीच विवाद देखिने गरेको  छ। एसिसीको नेतृत्वमा रहेका नक्भी र भारतीय क्रिकेट अधिकारीबीचको तनावका घटनाले पनि एसियाली क्रिकेटको प्रशासनिक सम्बन्धलाई चर्चामा ल्याउने गरेको छ । तर एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा पर्नुको कारण क्रिकेट कुटनीति नै हो भनेर निष्कर्ष निकाल्न मिल्दैन। पिसिबीले औपचारिक धारणा सार्वजनिक नगरेसम्म यस घटनाको वास्तविक कारण स्पष्ट हुनेछैन । क्यानले पनि सबै देशका क्रिकेट संघसँग समान र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै पाकिस्तानी खेलाडी सहभागी हुने विश्वास व्यक्त गरेको छ । 

    पिसिबीले यसअघि अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) मा पनि पाकिस्तानी खेलाडीको एनओसीका लागि प्रतिखेलाडी २५ हजार डलर मागिएको आरोप सार्वजनिक भएको थियो । त्यस घटनाको विवरण र एनपिएलको अहिलेको विवादबीच समानता भएपनि दुवै घटना एउटै कारण भएको मान्न सकिँदैन ।

    एनपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशका खेलाडी सहभागी हुँदै छन् । डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेल, जेम्स निसम, मोइन अली र शाकिब अल हसनजस्ता चर्चित खेलाडीको उपस्थितिले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउने अपेक्षा छ । पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित हुँदा भने उनीहरूलाई अनुवन्ध गरेका टोलीले वैकल्पिक योजना बनाउनुपर्ने अवस्था आउन सक्छ ।

    एनपिएलको विजेताले यसपटक एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ । सोमवारदेखि २७ दिनसम्म चल्ने एनपिएलमा कुल ८ फ्रेन्चाइज टोली प्रतिष्पर्धा गर्दैछन् ।

    ११ दिनसम्म हरेक दिन समान दुई खेल हुनेछ । बाँकी १० दिन समान एक खेल तय हुँदा तेस्रो संस्करण कुल ३२ खेलको प्रतिष्पर्धा रहनेछ । अहिलेसम्म जनकपुर बोल्ट्सले पहिलो संस्करण र लुम्बिनी लायन्सले दोस्रो संस्करणको उपाधि जितेका थिए । सुदूरपश्चिम रोयल्स दुवै संस्करणको उपविजेता हो ।  सुदूरपश्चिमले यसपल्ट पाकिस्तानका पूर्व क्रिकेटर मिसबाह उल हकलाई भविष्यका रूपमा भित्र्याएको छ भने वेस्ट इण्डिजका स्टार क्रिकेटर फाबियन एलन र शेरफन रुथरफर्ड जिस्ता बिग हिटरलाई अनुवन्ध गर्दै यसपल्ट थप बलियो बन्ने संकेत गरेको छ । दीपेन्द्रसिंह ऐरी जस्ता एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउण्डर रहेको सुदूरपश्चिम राम्रा विदेशी र स्वदेशी खेलाडीसहित सन्तुलित टोली बनेको छ ।

    दक्षिण अफ्रिकाका डेभिड मिलर, अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका जेम्स निसम, इङ्ल्यान्डका मोइन अली र रवि बोपारा तथा वेस्ट इन्डिजका शेरफेन रदरफोर्डजस्ता परिचित नाम छन् । बंगलादेशका शकिब अल हसन, जिम्बाब्वेका सिकन्दर राजा, पाकिस्तान क्रिकेटका कप्तान साहिबजादा फरहान, हुसेन तलत, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असालंकाले पनि यस संस्करणदेखि खेल्ने भएपछि एनपिएल नयाँ उचाइमा पुगेको छ । 

    पाकिस्तानका उसामा मिर र इफ्तिखार अहमद, अमेरिकाका हरमित सिंह, शुभम रञ्जने र शेड्ली भान स्काल्कविक, क्यानडाका कलिम साना, इङ्ल्यान्डका साइफ अली जैब, न्युजिल्यान्डका स्कट कुगेलाइन, अस्ट्रेलियाका डार्सी शर्ट तथा श्रीलंकाका निरोशन डिकवेला र चमिका करुणारत्नेजस्ता खेलाडीले पनि प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा छ । बंगलादेशका अरिफुल इस्लाम, मोहम्मद अकबर अली, महेदी हसन र मोहम्मद सैफुद्दिन, स्कटल्यान्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पलम्यान, भारतका कोना श्रीकर भरत, श्रीलंकाका सहान अराच्चिगे र धनञ्जय लक्षण तथा न्युजिल्याण्डका ब्रान्डन म्याकमुलन छन् । यी खेलाडीसँगको प्रतिष्पर्धाले नेपाली खेलाडीको क्षमता पनि वृद्धि हुनेमा दुई मत छैन ।

    यस्ता खेलाडीको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसर दिन्छ ।  त्यसैले तेस्रो सिजन नेपाली क्रिकेटका लागि महत्वपूर्ण बन्ने आशा गरिएको छ । –न्युज एजेन्सी नेपाल