
बुधवार , फाल्गुण ३, २०७९
भैरहवा, ३ फागुन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन नभइ केही सीटमा तालमेल मात्र भएको बताएका छन् । उनले पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको बताए ।
जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेसँग गठबन्धन भएको भन्ने बुझाइ गलत भएको बताए । उनले भने, ‘तालमेलमा कहीं फाइदा र कहीं नोक्सान हुन्छ । ’ पाँचदलीय गठबन्धनबाट निर्वाचनमा ९ सीटमा जसपा निर्वाचन लडेको भए राष्ट्रिय पार्टी बन्नेथिएन, न हाम्रो नेतृत्वमा प्रदेश सरकार बन्थ्यो न अहिले जस्तो भूमिका रहन्थ्यो । ’ उनले पार्टीले गरेको निर्णय सही भएको दावी गरे । उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुन सक्ने बताए । केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी भए पनि असंवैधानिक रुपमा दुईपटक संसद् विघटन गरिएपछि लोकतन्त्रको रक्षाका लागि असंवैधानिक कदमको विरोध गर्दै जसपाले प्रदर्शन गरेको उनले बताए ।
अध्यक्ष यादवले कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा नरहेको जिकिर गरे । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि कांग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा पुगेको उनको भनाइ छ । कांग्रेससँग गठबन्धन गर्दा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सीट जिते पनि राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए । जसपा गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठबन्धनमा सहभागी भए पनि राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए ।
अध्यक्ष यादवले लुम्बिनी प्रदेशमा केही समयपछि जसपा सरकारमा सहभागी हुने जानकारी दिए । जसपाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मत समेत दिए पनि सरकारमा सहभागी नभएको बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा समानजनक सहभागीता हुनुपर्ने जसपाको माग रहेको बताए । सीट बांडेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ ।
संघीयतालाई मजबुत बनाउन संघीय कानून आवश्यक रहेको उनले बताए । उनले भने, ‘प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन, प्रहरी प्रशासन बिना सरकार चलाउन कठिन हुन्छ । प्रदेशलाई मजबुत बनाउनुपर्छ । ’
उनले भने, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेश आन्दोलनको महत्वपूर्ण उपलब्धी हो ।’
संघीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन लाद्ने प्रयास भइरहेको उनको भनाइ छ । पार्टी मिल्ने र फुट्ने भए पनि संगठनात्मक असर नपरेको तर मनोवैज्ञानिक असर पारेको नेता यादवले बताए । उनले भने, ‘हामी राष्ट्रिय पार्टी बन्न सफल भएका छौं । ’
पार्टीभित्र आपसी एकता र समझदारी आवश्यक भएको उनले बताए । अध्यक्ष यादवले पार्टीलाई कमजोर बनाउने, अन्तरघात गर्ने र पार्टीका उम्मेदवारलाई हराउन लाग्नेलाई पार्टीमा राख्न नहुने तर्क गरे । उनले संगठन बिना शक्ति निर्माण हुन नसक्ने जिकिर गरे । उनले कांग्रेस र एमाले विकास गर्ने, निर्वाचन लड्ने र सरकारमा जाने कुरा मात्र गरेको बताए । नेता यादवले जसपाको कांधमा उत्पीडित जनतालाई अधिकार दिलाउन, भेदभाव हटाउन र समृद्ध मुलुक बनाउने जिम्मेवारी रहेको बताए । उनले भने, ‘शोषित पीडित जनतालाई जनसंख्याको आधारमा अधिकार दिइएको छैन् । दलित र महिलालाई सामाजिक न्यायको प्रत्याभूति दिलाउन बाँकी छ । ’
कार्यक्रममा पूर्व कृषिराज्य मन्त्री तथा जसपा नेता ओमप्रकाश यादव गुल्जारीले केही अधिकार प्राप्त गर्न बाँकी रहेको बताए । उनले मुलुकमा भएका परिवर्तनमा जसपा अध्यक्ष उपेन्द्र यादवको महत्वपूर्ण योगदान रहेको दावी गरे ।
जसपा केन्द्रीय सदस्य सावित्रा विश्वकर्माले पार्टीलाई मजबुत बनाउन भातृ संगठनको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले दलित समुदायलाई उचित स्थान दिनुपर्ने माग गरिन् ।
लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले हरेक नेता कार्यकर्ता उच्च मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टी निर्माणमा हरेक नेता कार्यकर्ताको भूमिका स्पष्ट हुनुपर्ने बताए ।
पार्टीका संघीय परिषद सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जनतासँग वाचा गरेको कुराहरु पूरा गर्ने बताए । उनले सम्पूर्ण समुदायलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
जसपा कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादवले संगठनलाई मजबुत बनाउनुपर्ने बताए ।
जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवको अध्यक्षता, पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष नवलकिशोर सिंहको स्वागत तथा उपाध्यक्ष सियाराम यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij