
मंगलवार , फाल्गुण ९, २०७९
भैरहवा, ९ फागुन ।
सामुदायिक (छाडा) कुकुरहरुका कारण समस्या बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको छ ।
नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबार्देखि तीन दिने शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको हो ।
सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । उनले शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको बताए । उनले यस शिविरले सामुदायिक कुकुरहरुको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनस्करण हुनेमा विश्वास लिइएको बताए । तर, खुल्ला सीमाना भएकोले भारत र अन्य पालिकाबाट पनि सामुदायिक कुकुरहरु आउने गरेको कारण समस्या रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा १५० देखि २ सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताए । उनकाअनुसार जस अन्र्तगत मंगलबार मात्रै ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । यसका साथै शिविरमा सामुदायिक कुकुरहरुलाई रेबिजविरुद्ध खोप समेत लगाउने गरिएको छ ।
नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा÷टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रह समेत गरेको छ । ‘अहिले तीनदिने शिविरमा सके जतिको बढी कुकुरहरुको बन्ध्याकरण गर्छौँ’ सिद्धार्थनगर नगरपालिकाका कृषि विकास तथा पशु सेवा शाखाका प्रमुख योगेन्द्र प्रसाद यादवले भने, ‘फलदायी देखिएमा अर्को पटक बजेट र समयावधी बढाएर शिविर सञ्चालन गर्ने सोचमा छौँ ।’
हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट तीनजना पशु चिकित्सक, २ जना प्राविधिकसहित १२ जनाको टोली खटिएको छ । यसबाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ ।
सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चापाईले कुकुरलाई संरक्षण गर्नुपर्ने तर रेबिजबाट जोगिन भने यस्ता शिविर जरुरी रहेको बताए ।
‘संख्यामा वृद्धि नहुने गरी कुकुर सबै स्थानीय तहले संरक्षण गर्नुपर्छ’, उनले भने, ‘यस्ता शिविरसञ्चालन गरेर बन्ध्याकरण गरेमा संख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेविजको जोखिम पनि कम हुन्छ ।’
लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्सय विकास निर्देशनालयका निर्देशक डा.परवेज आलम खानले विज्ञान प्रविधिबाट समाधान नभएको विषय कुकुरहरुबाट हुने गरिएको बताउँदै कुकुरको संरक्षण गर्नुपर्ने बताए । उनले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेर निरुत्साहित नभइ व्यवस्थित गर्न खोजिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij