आइतवार , फाल्गुण १४, २०७९
डडेल्धुरा, १४ फागुन । डडेल्धुरामा बाघको हड्डीसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड गाउँपालिका २७ वर्षीय वीरबहादुर ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बाघको हड्डीसहित शनिबार राति साढे बजे १२ अमरगढी नगरपालिका–५ बागबजारबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुवाट मेरुदण्डको हड्डी २९ थान, अस्थिपञ्जर हड्डी, ४ वटा दाँतहरू देखिएको हड्डी एक थान, करङको हड्डी २२ थान, तल्लो बाङग्राको हड्डी दुई थान, ,नली हड्डीको १० थान, विभिन्न प्रकारका स–साना हड्डीसहित९६ थान गरि ४.०५ किलो हड्डी बरामद गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका जैसी र ओलीलाई आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । प्रहरीका अनुसार जैसी मार्तडीमा बीसीडी वर्कसप व्यवसायी हुन् भने ओली सितल मदिरा स्टोरका सञ्चालक हुन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसारपोसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विषेश सूचनाको आधारमा उनीहरूले बोकेको झोला चेकजाँच गर्दा झोलामा रहेको आखेटोपहरा जस्तो देखिने वस्तु फेला पारी दुवै युवकलाई नियन्त्रणमा लिएको उनको भनाई छ । बरामद गरिएको बाघको हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेल्धुरालाई जिम्मा लगाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
