२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देवदह नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

शनिवार , फाल्गुण २०, २०७९

रुपन्देही, २० फागुन । 
रुपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य बीमा प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे । 

अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरवासीले बीमावापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै पाउनेछन् । 

देवदह नगरपालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदानसम्बन्धी सम्झौता गरेको थियो । 

सेवा शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले स्वास्थ्य बीमाको सेवालाई झण्झटरहित र सहज बनाउनुपर्ने खाँचो औंल्याए । स्वास्थ्य बीमा वापत पाउनुपर्ने सेवा लिन वीमाग्राहीले धेरै सास्ती खेप्नुपरेको गुनासो आएकाले सेवा सुधार गर्न सांसद विश्वकर्माले सुझाए । 

देवदह नगरपालिकाका प्रमुख खरेलले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको र ५ वर्षभित्र सबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगरप्रमुख खरेलले घोषणा गरे । 

नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगर अस्पतालमा स्वास्थ्य बीमा लागु हुँदा महिला र बालबालिका लाभान्वित हुने बताइन् ।  

स्वास्थ्य बीमा बोर्ड रुपन्देहीका संयोजक दिलिपमणि पौडेलले तीन तहको संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह भएको बताए । नगर अस्पतालमा बीमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने उनले बताए ।

बीमा कार्यक्रम लागू भएपछि नगरबासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्स–रे, एक्स–रे र १ हजार १ सय ३३ थरिका औषधि निःशुल्क पाउनेछन् । यसबाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।

नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ६ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन, कार्यालय सहयोगी ३ जना कार्यरत रहेका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्स–रे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।