२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

शैक्षिक गुणस्तर सुधार्न ओमसतियाले शिक्षकहरुको काज सरुवा गर्ने 

बिहिवार , फाल्गुण २५, २०७९

भैरहवा, २५ फागुन । 
रुपन्देहीको ओमसतिया गाउँपालिकाले सामूदायिक विद्यालयहरुमा खस्किदो शैक्षिक गुणस्तर सुधार्न प्रधान अध्यापकहरुसँगै अन्य शिक्षकको काज सरुवा गर्ने जनाएको छ । राम्रो नतिजा दिन नसक्ने तथा राजनीतिमा बढी लागेका प्रधानाध्यापकहरुलाई आगामी शैक्षिक सत्रमा पालिकाकै अन्य विद्यालयहरुमा काज सरुवा गर्ने गाउँपालिकाले जनाएको छ ।

ओमसतिया गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) कडा रुपमा प्रस्तुत भए । उनले प्रधानाध्यापकहरु विद्यालयमा शैक्षिक क्रियाकलापमा भन्दा अन्य काममा बढी ध्यान दिएको आरोप लगाए । ‘संस्थागत बिद्यालयहरु भन्दा सामूदायिक विद्यालयहरुमा तुलनात्मक बढी सुविधा हुन्छ । यादवले भने, ‘तर नतिजा सामूदायिक भन्दा संस्थाको राम्रो आउँछ, यसमा तपाईहरुको लापरवाही छैन ?’

अबदेखि ओमसतियामा लापरवाही नचल्ने यादवले चेतावनी दिए । गाउँपालिकाले दिने सेवासुविधा पालिकाले उपलब्ध गराउने र शिक्षकले पनि आफ्नो तर्फबाट सर्वोत्कृष्ट दिन उनले आग्रह गरे । 

ओमसतिया गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा पालिकाका जनप्रतिनिधिदेखि कर्मचारीसम्मले ऐक्यवद्धता जनाएका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले शिक्षकहरुलाई राजनीति र शिक्षण पेशामा कुनै एक रोज्न सुझाव दिएकी छन् । उनले पनि शैक्षिक गुणस्तरको सुधारको लागि शिक्षकको सरुवा अनिवार्य रहेकोले यससम्बन्धि पालिकाले आफ्नै कानून बनाएर अघि बढने बताइन् ।  

गुणस्तरीय शिक्षाको लागि शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति तथा अभिभावकले पनि उत्तिकै चासो दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले आग्रह गरे । ओमसतिया गाउँपालिकामा १६ वटा सामूदायिक, १४ वटा संस्थागत र ५ वटा धार्मिक विद्यालय रहेको बताउँदै उनले यी सबैको शैक्षिक गुणस्तरको लागि पालिका कठोर निर्णय गर्न बाध्य भएको उनले जनाए । 

ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षता तथा उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष एवं पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवल, शिक्षकको तर्फबाट राजकुमार गुरुङ, महेश चौधरी, ईनल यादव लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले गरेका थिए ।