
शनिवार , फाल्गुण २७, २०७९
तिलोत्तमा, २७ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए ।
सरसफाईमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्रीलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्था, क्लब, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले सहभागीता जनाएका थिए । तिलोत्तमा नगरपालिकाले सरसफाईलाई नगरबासीको जीवन पद्दतिसँग जोड्ने गरी अभियान सञ्चालन गरेको छ ।
आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्ने गरी नगरबासीमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् । ‘एक जनाले गरेको फोहोर अर्कोले टिपेर स्थायी समाधान हुँदैन । यसका लागि हरेक व्यक्तिमा आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास हुनुपर्छ ।’ उनले भने, ‘हाम्रा कार्यक्रमहरु अब त्यसतर्फ केन्द्रीत हुनेछन् ।’
वडा नम्बर ७ को भलवारी चोकमा सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै नगरप्रमुख खाणले सरसफाईलाई संस्कार र संस्कृतिसँग जोड्दै तिलोत्तमामा हरियाली प्रवद्र्धन र सरसफाईका कार्यक्रमहरु अघि बढाइने उल्लेख गरे । उनले तिलोत्तमालाई शहरको जस्तो भौतिक पूर्वाधार विकास र गाउँको जस्तो सामाजिक सद्भाव कायम राख्नेगरी विकास गर्नुपर्नेमा जोड दिए ।
यस्तै उपप्रमुख चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने उनले बताए ।
त्यस अवसरमा अभियानका संयोजक सुरेन्द्र श्री, नगरस्तरीय टोल विकास संस्था सञ्जालका संयोजक हेमराज पौडेल, समाजसेवी गंगा शाही, नगरपालिकाको वातावरण शाखाका गोरखनाथ खनाललगायले नगरपालिकाको अभियानको बारेमा बोलेका थिए ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगरस्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।
निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यही फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij