
सोमवार , फाल्गुण २९, २०७९
भैरहवा, २९ फागुन ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकाभित्र निर्माण भइरहेका विकास निर्माण कार्यको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सोमबार उनले ओमसतिया–५ गौरी, भेलाइ पोखरा पटखौलीदेखि लोधपुरवा जाने बाटो, पटखौली माविको भवन र पटखौलीस्थित पोखरीमा निर्माणाधीन छठघाट निर्माणस्थलको निरीक्षण गरेकी हुन् । त्यस्तै उपाध्यक्ष चौधरीले ओमसतिया–६ मझौली स्थित निर्माणाधिन नालीको समेत निरीक्षण गरेकी छन् ।
अनुगमनका क्रममा उनले निर्माण व्यवसायी तथा इञ्जिनियरहरुलाई गुणस्तरमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन् । उनले निर्माण भइरहेका स्थानमा अनिवार्य रुपमा सूचना बोर्ड राख्न समेत निर्देशन दिएकी हुन् । उपाध्यक्ष चौधरीले भनिन्, ‘निर्माण कार्यमा कमसल सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ । त्यस्तै कहीकतै कमसल सामग्रीको प्रयोग भएको पाइए कारवाही हुने भन्दै सचेत गराएका छौं । ’
निर्माण कार्य गुणस्तरहीन भए पुनः निर्माण गर्नुपर्ने भनेर पनि सचेत गराइएको उपाध्यक्ष चौधरीको भनाइ छ । उनले निर्माण कार्यमा कुनै गुनासो नआउने गरी काम गर्न निर्माण व्यवसायीलाई जानकारी गराइएको बताइन् । अनुगमन तथा निरीक्षणमा उपाध्यक्ष चौधरीसँगै ओमसतिया–५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मदनप्रसाद पोखरेल, कार्यपालिका सदस्य गुन्जा चौधरी, योजना तथा प्रविधिक शाखा प्रमुख इञ्जिनियर निर्मल कुमार थापा, इञ्जिनियर शैलेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij