२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सप्ताहव्यापी कार्यक्रमका साथ मनाइयो सरसफाई अभियानको एक सयौं श्रृंखला

बुधवार , चैत्र १, २०७९

भैरहवा, १ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान; १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगरप्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँचवटा घोषणा गरेका हुन् । 

नगरप्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरे । घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगरप्रमुख खाणको भनाइ छ ।

फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरुलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे । सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पारे ।

त्यस्तै प्रतिनिधिसभा सदस्य तथा प्रथम तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए ।
बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताए । उनले सबै कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान पुर्याउनुपर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताए । तिलोत्तमा नगरप्रमुुख रामकृष्ण खाणको अध्यक्षता, उपप्रमुख जागेश्वरी चौधरीको स्वागत तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीको सञ्चालनमा भएको मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिंचाई प्रणाली, वन, टोल विकास संस्था, व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरुलगायतका सयौं नगरबासीको सहभागिता रहेको थियो ।

सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्व नगरप्रमुख बासुदेव घिमिरे र विभिन्न संघ–संस्थाहरुलाई सम्मान गरिएको थियो ।