
सोमवार , चैत्र १३, २०७९
भैरहवा, १३ चैत ।
पूर्व उर्जा राज्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सत्यनारायण भगत बिन (निषाद)ले माओवादीकै कारण उत्पीडित जनताको अधिकार सम्बोधन भएको बताएका छन् । उनले विगतमा माओवादीको अगुवाइमा भएको लडाईका कारण उत्पीडित जनताको अधिकार सुनिश्चित हुनुका साथै सम्बोधन भएको बताए ।
स्वतन्त्र नागरिक समाजले सोमबार भैरहवामा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली समाजले चाहेको पार्टी माओवादी रहेको दावी गरे । उनले भने, ‘समयको गतिसँगै रुपान्तरण भइरहन्छ । स्वतन्त्रता र समानताको परिकल्पनामा ब्रेकअप भए जस्तो लाग्छ । ’
संविधानसभा सदस्य समेत रहेका नेता भगतले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड कुशल राजनीतिज्ञ भएको बताए । उनले मुलुकको व्यवस्था परिवर्तनमा प्रचण्डको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘प्रचण्ड डायनामिक नेता हुनुहुन्छ । उहाँमा पनि केही कमीकमजोरी छन् तर देशको विकास र समृद्धिका लागि प्रचण्डको नेतृत्व आवश्यक छ ।’
उनले आफू मन्त्री बन्दा पनि मन्त्री बनेजस्तो अनुभुति नभएको र तामझाम नगरेको बताए । कृषिप्रधान देश नेपाल भए पनि मलको अभाव रहेको उनको भनाइ छ । नेता भगतले किसान, मजदूर विदेश पलायन हुनुपरेको बताए । उनले जनताको समस्या समाधानका लागि आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्ने बताए ।
त्यस्तै पूर्व सांसद विनोद कुमार उपाध्यायले नागरिक मारमा परेको बताए । उनले मानिस सचेत प्राणी भएको बताए । उपाध्यायले जनताको अधिकार प्राप्तीका लागि कुनै जातजातिसँग नभइ राज्य सत्तासँग लडाई रहेको बताए ।
ठुटीपीपल माध्यमिक विद्यालय ओमसतिया-१, रुपन्देही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन रसाइलीले समीक्षा गर्दै अघि बढ्नुपर्ने बताए । उनले कोही पनि शिक्षा, स्वास्थ्य सेवा पाउनुबाट वञ्चित हुनु पर्ने अवस्था आउन दिन नहुने बताए । स्वतन्त्र नागरिक समाजका अध्यक्ष रियाज खानको अध्यक्षता तथा सदस्य विजयप्रकाश उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा गोविन्द प्रसाद मल्लाह, सुनिल निसाद लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij