
बिहिवार , चैत्र १६, २०७९
भैरहवा, १६ चैत ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको ११ औं गाउँसभा (अधिवेशन) बुधबार मझगावामा सम्पन्न भएको छ । गाउँपालिकाको गाउँसभाले उपभोक्ता समिति गठन, सञ्चालन सम्बन्धि कार्यविधि २०७९, मर्मत सम्भार सम्बन्धि कार्यविधि २०७९, आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ र सार्वजनिक लेखा समिति सम्बन्धि कार्यविधि २०७९ गरी चारवटा कार्यविधि अनुमोदन गरेको छ ।
चालु आर्थिक वर्षमा कोटहीमाई गाउँपालिकाले कुल जम्मा ४८ करोड ४ लाख ५० हजारको बजेट तथा कार्यक्रम स्वीकृत भइ कार्यान्वयनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताए । जसअन्तर्गत सशर्त अनुदान संघतर्फ १७ करोड ८ लाख, सशर्त अनुदान प्रदेशतर्फ ९५ लाख, विशेष अनुदान संघतर्फ १ करोड, विशेष अनुदान प्रदेशतर्फ ६० लाख, समपुरक अनुदान संघतर्फ १ करोड र समपुरक अनुदान प्रदेशतर्फ ५० लाख समावेश गरिएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले चालु आर्थिक वर्षमा जम्मा ५८४ वटा क्रियाकलापहरुमध्ये कबि ७५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्झौता भइ कार्यान्वयनमा रहेका जानकारी दिए । हालसम्मको कार्यालयको वित्तीय प्रगति १७ करोड ४४ लाख (करिब ३५ प्रतिशत) रहेको र भौतिक प्रगति ६० प्रतिशत भन्दा माथि रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालकिसुन त्रिपाठीले शैक्षिक गुणस्तर सुर्धानका लागि पालिकाले आफ्नै शिक्षा ऐन, नियमावली तथा कार्यविधि बनाएर अन्तरपालिकामा शिक्षकहरुको सरुवाको तयारी गरिरहेको बताए । मर्चवारमा जनताको धेरै अपेक्षा रहेको र निर्वाचित भएको एक वर्षमै सम्पूर्ण अपेक्षा पूरा गर्न नसकिने उनले बताए । पालिकाका सबै निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिका बासीहरुको सहयोगले मात्रै समुन्नत कोटहीमाईको विकास सम्भव रहेको कारण सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । अध्यक्ष त्रिपाठीले मर्चवारमा चालु आर्थिक वर्षमा १५ शैयाको अस्पताल निर्माणको लागि टेण्डर आव्हान गर्ने प्रक्रियामा जानकारी दिए ।
जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख रामकृपाल धोबीले कोटहीमाई गाउँपालिकाको विकासका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए । उनले गाउँपालिकाको समग्र विकासका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।
गाउँपालिका अध्यक्ष बालकिशुन त्रिपाठीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख राम कृपाल धवलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शुसिला कुमारी यादव, वडा नम्बर ५ का वडाअध्यक्ष सञ्जय कुमार सैनी, गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्री, योजना शाखाका सनोज कुमार चौधरी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij