
शुक्रवार , श्रावण १६, २०७७
भैरहवा, १६ साउन ।
राइजिंग क्लब नेपाल, सिद्धार्थनगर–१२ रुपन्देहीले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहलाई सहयोग गरेको छ । क्लबले खीर खाने दिन (साउन १५) को अवसर पारेर त्यहाँ रहेका बालबालिकासंग सामूहिक भोजन समेत गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
क्लबले बालगृहलाई १२ थान झुल, आर्थिक सहयोग र बालबालिकालाई चकलेट समेत वितरण गरेको छ । उक्त कार्यक्रममा बोल्दै जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले सामाजिक क्षेत्रमा क्लबको योगदान महत्वपूर्ण रहेको जनाए । उनले यस्ता सामाजिक संस्थाको सानो सहयोगबाट बालबालिकाको पठनपाठन र जीवनयापनमा ठूलो योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडासदस्य तथा क्लबका सल्लाहकार सरोज ठकुरीले संघ-संस्थाको सहयोगबाट चलेको बालगृहमा आएर सामूहिक भोजनका साथै सहयोग गर्ने क्लब परिवारप्रति विशेष आभार व्यक्त गरे ।
बालगृहकी संचालक कृष्णमाया गुरुङले यस्ता धेरै संघ–संस्थाको सहयोगबाट नै आफूलाई संस्था संचालनमा टेवा पुगेको बताइन् । उनले अन्य स्रोत केही नभएकाले विशुद्ध सामाजिक सहयोगबाटै बालबालिकाको खानपान र पठनपाठन गराउँदै आएको जनाइन् । आगामी दिनमा समेत हातेमालो गर्न उनले क्लबलाई आग्रह गरिन् ।
कार्यक्रम संयोजक मिलन पौडेल बालगृहसँग आगामी दिनमा पनि सहकार्य गरी सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । बालगृहमा १९ जना बालबालिका छन् । उनीहरुको पालनपोषण र पठनपाठनमा भैरहवा क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाले सहयोग गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij