२०८३, मंसिर २ गते

Nov 18 2026 | २०८३, मंसिर २ गते

सार्वजनिक जीवनमा महिला : सन्देशमूलक पुस्तक

बुधवार , मंसिर २, २०८३

  • 79
    Shares
  • 79
    Shares
  • इतिहास र पुराणमा महिलाको स्थान नगन्य भेटिन्छ । त्यहाँ महिलालाई पुरुषको अनुगामिनीको स्थान दिइएको छ । पितृसत्ताको बलियो र दबाबकारी रुपले महिलालाई जहिले पनि पुरुषको छायामात्र बनाइरह्यो । (डा.रजनी ढकाल, लैंगिकता र नेपाली साहित्य)

    महिलाहरु पछाडि परे कि, पारिए यो नै वर्तमानको कसिलो तर अनुत्तरित साझा प्रश्न हो । यो प्रश्नको बारेमा आ–आफ्ना तर्क छन् । महिला अधिकारकर्मी वा महिलावादीहरु भन्छन्–महिलाहरुलाई पछाडि पारिएका हुन् । यसमा हाम्रा बलिया तर्क र प्रमाणहरु छन् । महिला र पुरुष समान छौं । समताको लडाइँमा सबैको साथ,समर्थन र सहयात्रा खोजिरहेका छौं ।

    अचेल, मैले भन्ने गरेको छु–महिला पहिला ! कसरी सम्भव छ त ? यसका लागि कसको भूमिका र दायित्व के हुने हो र हुनुपर्छ ? महिलावादी वा अधिकारकर्मीहरु यो न्यारेसनलाई कसरी लिन्छन् ? नारीवादीहरु आफूलाई पहिला बनाउन खोज्छन् वा पुरुषसँगै समान हौं भन्न चाहन्छन् ? हामीलाई अघि बढ्न नदिने यो पितृसत्तात्मक समाज हो या पुरुषवादी चिन्तन हो ? नत्र महिला ः पहिला हुन के कुराले छेकिरहेको छ ।

    महिलामाथि घरपरिवार, कार्यस्थल तथा समाजमा हुने गरेका अनेकौं शोषणको विरोधी सोच नै महिलावादी चिन्तन हो । महिला अधिकारका लागि प्रतिवद्ध चिन्तनधारा निर्माण गर्न स्थापित ठोस आवाज र चिन्तनलाई मुखरित गर्ने सामुहिक एवम् एकीकृत विचार नै महिलावादी आन्दोलन हो । 
    अंग्रेजीको फेमिनिजमबाट नेपालीमा नारीवाद शब्द बनेको हो । शरीरमा नारीपनको गुण या पुरुष स्वभाव देखाउने महिलाको अर्थ बुझाउन फेमिनिजम शब्द प्रयोग गरिएको थियो । महिलाका सामाजिक एवम् सांस्कृतिक उत्थानका निम्ति काम गर्ने समूहलाई नै नारीवादको रुपमा अथ्र्याउन थालियो । 
    फेमिनिजम शब्दको पहिलो प्रयोग सन् १८९५ अप्रिल २५ मा अत्तेन्वम पत्रिकामा भएको थियो । यसको अर्थ ‘आफ्नो स्वायत्ताको स्थापित गर्ने महिला’ भन्ने थियो । ( डा.रजनी ढकाल, नारीवादी चिन्तनको विकास) नारीवाद मानवीय दर्शनबाट प्रभावित छ । नारीवाद शब्दलाई सन् १८७२ मा फ्रान्स र नेदरल्याण्डले प्रयोगमा ल्याएको देखिन्छ । नारी अधिकारलाई सूचित गर्न फेमिनिजम शब्द प्रयोग भएको थियो ।

    यहाँ मैले चर्चा गर्न खोजेको फोटो फिचरसहितको पुस्तकको हो । नेपाल पिक्चर लाइब्रेरीको फोटो डट सर्कलले  प्रकाशन गरेको ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक दोस्रो संस्करणले पाँचवटा विषयलाई प्राथमिकता दिएको छ । प्रथम प्रकाशनलाई अध्ययन गरेपछि कान्तिपुरले भनेको छ–यस किताबमा नेपाली महिलाका तस्बिर मात्रै छैनन्, उनीहरुका सार्वजनिक जीवनको बयान पनि छ ।

    यो पुस्तकले उपलब्ध गराएको बलियो दृश्य–भण्डारले इतिहासलाई फरक ढङ्गले हेर्न सघाउनुका साथै हाम्रो कल्पनालाई फराकिलो बनाउन मद्दत गर्छ–समाज अध्ययनले भनेको छ । त्यतिमात्र होइन यसको प्रशंसा गर्दै हिमालखबर लेख्छ–सामान्य महिलाका ससाना कदमले समाजमा ल्याएको विशाल परिर्वतन र महिला आफैमा आएको परिवर्तन पनि पुस्तकमा भेटिन्छ ।

    ‘जनताका महिला’,‘टुकीको उज्यालोमा पढ्दै’,‘महिलाका शब्दहरु’,‘महिलाका लागि महिला’ र ‘बाहिरी संसारमा’ शीर्षकहरु दिएर पुस्तकलाई खण्डखण्डमा विभाजन गरिएको छ । यसरी हेर्दा पुस्तक महिलाका विषयमा महिलालाई नै प्रष्ट्याउने गरी फोटोसहित उपयुक्त क्याप्सनद्वारा सुशोभित छ । महिलाले गरेका कामलाई फोटोले र फोटोलाई कामले प्रमाणित गरेको छ । फोटो र महिलाबीच अन्तर्सम्बन्ध कायम राखिएको देखिन्छ । पुस्तकमा परिचय खण्डले संस्थागत परिचय, पुस्तक प्रकाशनको विगत एवम् वर्तमान काम र क्युरेटरबीचको कुराकानी पुस्तकको अन्तिम खण्डमा समावेश गरिएको छ । फोटो र कर्मशीलका कथा खोजकर्तालाई समेत पुस्तकमा परिचित गराइएको पाइन्छ ।

    नारीवादलाई प्राथमिकतामा राखेर दोस्रो संस्करणका रुपमा प्रकाशित यो पुस्तकले नारीलाई सामाजिक, राजनीतिक, साँस्कृतिक विभेदबाट मुक्तिको खोजी गर्न अपील गरेको छ । यो पुस्तक फोटोहरुको संकलनमात्र होइन । बरु, वैचारिक दर्शनको सकारात्मक यात्रा पनि हो । सन् १७९२ मा नारीवादी अमेरिकी लेखक मेरी उल्स्टनक्राफ्टले ‘ए विन्डिकेसन अफ द राइट्स अफ वुमन’ मा महिला शिक्षा र महिलाको व्यक्तित्व विकासमा जोड दिएकी छिन् । उनलाई विश्वको प्रथम महिलावादी लेखक र उनको पुस्तकलाई सोसम्बन्धि लेखिएको पहिलो पुस्तक नै मानिन्छ । (डा.रजनी ढकाल, नारी चेतनाको विकास)

    ‘सार्वजनिक जीवनमा महिला’ पुस्तकभित्र नेपालका अग्रज महिला राजनीतिकर्मीलाई देख्न र भेट्न पाइन्छ । उनीहरुका संघर्षशील जीवन भेटिन्छन् । उनीहरुका योगदान, संघर्ष र सफलताको प्रतीक नै आजको नेपाल हो । राणा शासन हटाउन, पञ्चायती व्यवस्था गुल्टाउन र माओवादी सशस्त्र द्वन्द्वमा नेपाली महिलाहरुको सार्थक एवम् संघर्षपूर्ण उपस्थिति चानेचुने कुरै हैन । ज्यानको बाजी थापेर अघि बढेका नेपाली महिलाहरुको सफलताको परिणाम नै नेपालको राष्ट्र प्रमुखमा, सरकार प्रमुखमा, प्रधानन्यायाधीशमा, सभामुखमा र मुख्यसचिवमा महिलाहरुको निर्णायक उपस्थितिलाई खेलाँचीको विषय मान्न सकिन्न । सुरुवाती समयमा नेपाली महिलाहरुको त्याग, बलिदानी भाव र संघर्षमय सफलताको कडीका रुपमा लिन सकिन्छ । तर, केही अधिकारकर्मी महिलाका कुरा बेग्लै छन् । उनीहरु भन्छन्–दुई चार थान महिलाहरुले शासनमा आसन प्राप्त गर्दैमा महिलावादी आन्दोलन सफल हुन सक्दैन । भूइँ महिलाका कथा, व्यथा थाहा पाउनुपर्छ । उनीहरुका पीडा बुझ्नुपर्छ । उनीहरुले अधिकार प्राप्त गर्नुपर्छ । उनीहरुका गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा आमूल परिवर्तन ल्याएर समृद्धिको ढोका उघार्नुपर्छ ।

    प्रकाशित यो पुस्तकमा धेरैजसो फोटो बोलेको छ । चिनियाँहरुले भनेझैं एउटा फोटोले हजार शब्दको बयान गर्छ । यो पुस्तक हेर्दै पढेपछि सोही कुरालाई प्रमाणित गरेका अनुभूति भयो । पुस्तकमा २०७५ सालदेखि नेपाल पिक्चर लाब्रेरी, फोटो डट सर्कलले सञ्चालन गरेको फेमिनिष्ट मेमोरी प्रोजेक्ट अन्तर्गत संकलक तथा योगदानकर्ताहरुको श्रम, सीप र सद्भावपूर्ण कर्मलाई मज्जाले हेर्न र पढ्न पाइन्छ ।

    पुस्तकमा फोटोमात्र देखाइएको छैन । बरु, फोटोसँगै लेखिएका छोटो, मीठो (सर्ट एण्ड सुइट) क्याप्सनले पुस्तकको गरिमा र महिमा ह्वात्तै बढाइदिएको छ । १५ सेकेण्डको रील हेर्ने जमानामा यो पुस्तकले पक्कै पनि आफ्नो अमूल्य भ्यालू जोगाउने छ ? इतिहासको दस्तावेज हो यो पुस्तक । युगको सन्देश हो यो पुस्तक । सम्बोधन हो, महिलावादीहरुको । अधिकार हो नारीवादीहरुको । समर्पण छ सबैका निम्ति ।

    पुस्तकल विगतका शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिकलगायत थुप्रै विषयवस्तु र प्रसङ्गहरुलाई उठान गरेको छ । यसलाई महिलासँग जोडेर आफ्नै तरिकाले खोज, अध्ययन, अनुसन्धान र विश्लेषण गरेको छ । परिभाषित गरेको छ । महिलाका कुराहरुमात्र उठाएको छैन, कारण र परिणाम प्राप्तिका लागि अग्रसर हुन सचेत गराएको छ । महिला आन्दोलनले उठाएका मुद्दाहरुलाई पहिचान, परिभाषित, परिणाममुखी बनाउन अभिमुखीकरण गरेको छ ।

    दस्तावेज निर्माण गर्नु कुनै जोकको कुरा होइन । त्योभन्दा ठूलो कुरो त्यसको प्रयोग कसरी हुन्छ, विमर्शको विषय भने हुन सक्छ । सोकेसको कागजी फूल होइन, यो पुस्तक । जसलाई हेर्नका लागिमात्र सजाइन्छ । न सुगन्ध, न सुन्दरता ! बरु, यो पुस्तकले नयाँ पुस्तालाई विगतको ऐना देखाउने छ । वर्तमानमा यसको सान्दर्भिकता बुझाउने छ र भविष्यप्रति आशावादी बनाउने छ । फोटो हेरेरमात्र पल्टाउने यो कुनै एल्बम होइन । बरु फोटोमा लेखिएको क्याप्सन पढेर महिलाको महिमा बुझ्ने संग्रहणीय शाब्दिक एल्बम हुन सक्नेछ ।

    यो पुस्तक, महिलावादी पुस्तक लेखनको एउटा थालनी समेत हुन सक्छ । नयाँनयाँ कोण र दृष्टिकोणबाट महिलाहरुका विषयमा उठान गर्न र पुस्तक लेख्न सकिनेछ । थाहा हुनेछ यो पुस्तक हेरेर अनि पढेपछि । महिलाहरु केवल चुल्हो, चौकोमामात्र सीमित छैनन् । उनीहरु सार्वजनिक जीवनका पात्र हुन् भन्न सकिन्छ यो पुस्तक पढेपछि । पुस्तकले नेपाली महिलाका हैसियत पहिचान गराइदिएको छ । विश्वमा नेपाली महिलाहरुको अवस्था र स्थितिको विश्लेषण गर्न बाध्य बनाइदिएको छ । विश्वले महिलाहरुका मुद्दामा नयाँनयाँ खोज, अध्ययन र अनुसन्धान गरिरहेको बेलामा नेपाली महिलाहरुले महिला हिंसा, घरायसी आन्तरिक द्वन्द्व, अवहेलना, तिरस्कार र सम्बन्धविच्छेदको  पीडादायी परिस्थिति व्यहोर्नुपरेको छ । विकसित देशका महिलाहरुले रकेटका कुरा गरिरहँदा पेटका लागि दौडिरहनुको कथा पुस्तक पढेपछि थाहा लाग्छ ।

    यस पुस्तकमा, महिलाहरुलाई सघाउने, उनीहरुको आन्दोलनलाई समर्थन गर्ने महिलावादी पत्रपत्रिका, बुलेटीनका समेत आवरण प्रकाशन गरिएका छन् । यसले उनीहरुको आयुलाई थपेको देखिन्छ । पुस्तकमा हाम्रो मथिङ्गलले सोच्न नसक्ने फोटो र क्याप्सन, सन्देशहरु प्राप्त हुन्छन् । यो नै पुस्तकको खास विशेषता हो । पुस्तकमा हस्तलिखित पत्रहरु छन्, व्यक्ति परिचय सन्देश छन् । अंग्रेजी भाषालाई समेत साथ लिइएको छ पुस्तकमा । 
    पुस्तकमा क्युरेटर (कला, वस्तु, सूचना वा सिर्जनालाई छनोट गर्ने, व्यवस्थित गर्ने, संरक्षण गर्ने र दर्शक वा पाठकसमक्ष अर्थपूर्ण ढंगले प्रस्तुत गर्ने व्यक्ति नै क्युरेटर हो । नेपालीमा यसलाई संकलक, छनोटकर्ता वा प्रदर्शनी संयोजक भन्न पनि सकिन्छ ।) नयनतारा गुरुङ कक्षपति र दिवस राजा खत्रीले नारीवादी अभियान, आन्दोलन, यसको प्रभाव र असर, पुस्तकमा समावेश विषयवस्तु, फोटोको प्रयोग र प्रयोगका आयामका बारेमा प्रशस्त दोहोरो सम्वाद, छलफल र विमर्श गरेका छन् । यसले पनि पुस्तकको वजन बढाएको छ  । प्रभावकारिता र प्रयोगमा जिम्मेवारीबोध गराएको छ । पुस्तकको सार नै उनीहरुबीचको सम्वाद हो भन्न सकिन्छ ।

    पुस्तकमा सजिएका फोटोहरुले इतिहास झल्काएका छन् । भूगोल र भावनाको प्रतिनिधित्व गरेका छन् । कला, साहित्य र सङ्गीतलाई सम्बोधन गरेका छन् । संस्कार, संस्कृति र सभ्यतालाई नजिकबाट चिनाएका छन् । पुस्तकले कतिपय महिला लेखकका पुस्तकसम्बन्धि अभिमुखीकरण सम्भव भएको छ ।

    यो पुस्तकलाई स्रोतग्रन्थका रुपमा लिन सकिन्छ । सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्न सकिन्छ । सम्पादन र व्यवस्थापनमा खटिएका मित्रहरुको अहोरात्र प्रयास, अभ्यास र सिर्जनशीलताको उत्तम पुरस्कार नै यो पुस्तकलाई मान्न सकिन्छ । पुस्तकमा देखिएका केही सामान्य त्रुटीहरुलाई प्राविधिक कमजोरी मान्न सकिन्छ । सत्कर्मका अघि यस्ता मानवीय त्रुटीहरु शून्य हुन् ।

    पुस्तकमा सजिएका करिव आठ हजार फोटो जीवन्त छन् । यी फोटोहरु संकलनकर्ता, योगदानकर्ता र पुस्तक प्रकाशनमा आर्थिक सहयोग पुर्याउने विभिन्न दातृ संस्थाहरुप्रति प्रकाशन संस्था कृतज्ञ छ । दोस्रो प्रकाशन सबै जनजन र सबैका मनमनमा चीरस्मरणीय रहन सकोस् । शुभेच्छा ।