२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगर–५ मा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

शनिवार , बैशाख २, २०८०

भैरहवा, २ वैशाख ।
नेपालको कानुनको जानकारी सबैमा हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शनिबार सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ को कार्यालयद्वारा ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महिला सशक्तिकरणको लागि कानुनी साक्षरता कार्यक्रममा सहभागीहरुले कानुनको जानकारी सबैमा हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले प्रत्येक नेपाली नागरिकले नेपालको कानुनबारे जानकारी राख्नुपर्ने र हुनुपर्ने उल्लेख गर्दै कानुनको परिधिमा रहेर सभ्य नगर निर्माणमा भुमिका निर्वाह गर्न आग्रह गरे ।

उनले कानुनबारे जानकारी नभएकोले गल्ती भएको भन्ने नपाइने भन्दै जीवनमा कानुनलाई अनुशरण गरेर अघि बढ्नुपर्ने बताए । महिलाहरुलाई सशक्त बनाउनका लागि आयोजना गरिएको कार्यक्रम फलदायी हुनेमा आफु विश्वस्त रहेको उनले जनाए ।

सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले कानुनको अनभिज्ञता क्षम्य नहुने भएकोले वडावासीहरुलाई आफ्नो हक तथा अधिकार लगायत कानुनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपालको कानुनको परिधिमा रहेर सबैले दिनचर्या अगाडी बढाउनुपर्ने भन्दै महिलाहरुलाई सशक्त बनाउन आफुहरु हातेमालो गरेर अघि बढ्न चाहेको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले प्रशिक्षणमा प्राप्त ज्ञान समाजमा पनि छर्न आग्रह गरे । वडा नम्बर १३ का सदस्य निलु श्रीसले कानुनसम्बन्धी पूर्ण ज्ञान लिएर महिलाहरु जागरुक हुनुपर्ने बताइन् ।

समाजसेवी नारायण प्रसाद अग्रवालले महिला सशक्तिकरणको लागि वडा कार्यालय सरहानीय कार्यक्रम गरेको भन्दै कानुनी साक्षरता सबैमा हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुलाई अधिवक्ता प्रदिप कुमार यादव, सुनिल कुमार त्रिपाठी र पुष्पा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य प्रेम नारायण तेलीको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, ८ का वडाअध्यक्ष राजनजंग राणा, वडा नम्बर ५ लगायत विभिन्न वडाका वडा सदस्यहरु, वडा नम्बर ५ को सचिव बन्दना उपाध्याय, महिला स्वयंसेविकाहरु, सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्य सलुजा रामदाम, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सह–कोषाध्यक्ष संजय बेरिवाल, समाजसेवी केशव प्रसाद हलुवाई, हरिश सेठिया, मारवाडी महिला मंचका अध्यक्ष, ब्रह्माकुमारी ईश्वरी विश्वविधालयको प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।