
मंगलवार , बैशाख ५, २०८०
भैरहवा, ५ वैशाख ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले मुलुकका हरेक परिवर्तनमा संचारमाध्यम र संचारकर्मीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले आगामी दिनमा पनि मुलुकको विकास, समृद्धि, संविधानको रक्षा र जनजीविकाका विषयमा पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनु पर्नेमा जोड दिए ।
समाजवादी प्रेस संगठन नेपाल, लुम्बिनी प्रदेश कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रचार विभाग उपप्रमुखसमेत रहेका श्रेष्ठले समाजलाई कता डोर्याउने भन्ने कुरा संचारकर्मीको कलममा निर्भर हुने हुँदा संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले संविधानको रक्षा गर्दै मुलुकलाई अग्रगमनतर्फ बढाउनु अहिलेको आवश्यकता रहेको प्रष्ट्याए ।
‘म एउटा पत्रकारको हैसियतले निरन्तर भ्रष्टाचार र वेतिथिविरुद्ध कलम चलाउँदै आएको छु’, उनले भने, ‘सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गरे संविधानमाथि प्रहार हुँदैन, भ्रष्टाचार नियन्त्रण हुँदै जान्छ ।’
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जनताको विद्यमान समस्याको हल हुने गरी विचारको राजनीति गर्नुपर्नेमा जोड दिए । ‘विचारको राजनीति पछिल्लो समय ढगमगाउँदै गएको छ, यदि विचारको राजनीति गरिँदैन भने राजनीतिक दल हुनुको औचित्य पनि हुँदैन ।’
एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले संचारकर्मीले सबैलाई समान रुपले हेर्न सक्नुपर्ने बताइन् । ‘मुलुकको परिवर्तन र यसको संस्थागतमा पत्रकारहरुको भूमिका अहम् छ, उनले भनिन् । ’
उनले छोटो समयमा नै समाजवादीले मुलुकलाई दिशा निर्देश गर्न सक्ने पार्टी बनेको जनाउँदै आगामी दिनमा अझै सशक्त पार्टी बनेर मुलुकको विकास र समृद्धिका लागि काम गर्ने जनाइन् ।
समाजवादी प्रेस संगठनका केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले संगठन अहिले सानो देखिए पनि संगठनको विस्तार गर्दै जाने र आगामी दिनमा संगठनको गुणात्मक रुपमा विकास हुने बताए । ‘हामीले छोटो समयमा नै संगठनलाई बलियो र दरिलो बनाएका छौं, अब सबै साथीहरुलाई क्रियाशील बनाएर अझै मजबुत संगठन बनाउँछौं’, उनले भने ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीयय सदस्य बाबुलाल यादव, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नेपाल प्रेस युनियन, रुपन्देही अध्यक्ष रेखा भुसाल, होटल एसोसियसन अफ नेपाल (हान) का केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसी लगायतले बोल्दै पत्रकारहरुले पेशागत धर्मलाई ख्याल गरी समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनीहरुले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा दिएर पत्रकारितामार्फत् सरकारलाई झकझकाउन आग्रह गरे ।
समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हृदयराम भुसालको अध्यक्ष, संगठनमा प्रदेश उपाध्यक्ष शंकर प्रसाद पाण्डेको स्वागत र कोषाध्यक्ष प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij