२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउँछु : अध्यक्ष श्रेष्ठ

आइतवार , बैशाख १०, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • बुटवल, १० वैशाख ।
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले  काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

    आइतबार अस्पतालमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताए । 

    उनले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसँगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताए । ‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि होइन’–अध्यक्ष श्रेष्ठले भने–‘म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहाँका समस्या समाधान र बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग डटेर कुरा राख्न आएको हुँ ।’

    अस्पतालमा बिरामीको अत्याधिक चाप रहेकाले त्यसलाई थेग्न १२ सय शैयाको प्रस्तावित नयाँ भवनको ठेक्का प्रक्रिया अघि बढाउने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे । 

    प्रदेश सरकारको गौरवको आयोजनामा परेको अस्पतालको नयाँ भवनको ठेक्का प्रक्रियालाई कानुनी हिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘ठेक्का रद्द गरेर वा कानूनी हिसाबले टुंगो लगाएर ठेक्का अघि बढाइन्छ’–अध्यक्ष श्रेष्ठले भने–‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय सेवा दिन नयाँ भवनको विकल्प छैन ।’ 

    अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमा लिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कानसहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गरे । आफूले सुरुमा सय दिने, ६ महिने र एकवर्षे योजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने अध्यक्ष श्रेष्ठले बताए । 

    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझाव दिंदै स्वास्थ्यकर्मीहरुले विरामीमैत्री राम्रो व्यवहार गर्न आग्रह गरिन् । प्रादेशिक अस्पतालमा बढ्दो बिरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन सुरु गरिसकेको उनले बताइन् । 

    अस्पताल विकास समितिका पूर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयाँ तलमाथि गर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानूनी प्रक्रिया मिलाएर अघि बढाउनुपर्ने सुझाए । उनले शल्यक्रिया (अप्रेशन) को पालो ६ महिना कुर्नुपर्ने बाध्यता अन्त्य गर्न, वन कार्यालयको जग्गा अस्पतालको स्वामीत्व र संरक्षणमा लिन सुझाव दिए ।  

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुँदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताए । 

    सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, डाक्टर श्रीधर आचार्य, नर्सिङ प्रमुख ज्योति पौडेल लगायतले अस्पतालले सक्षम अध्यक्ष पाएको भन्दै अस्पतालको सेवामा छिटै परिवर्तनको अनुभूति हुने विश्वास व्यक्त गरेका थिए ।