
शुक्रवार , श्रावण १६, २०७७
भैरहवा, १६ साउन ।
भैरहवाका एक युवाले विपन्न परिवारलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का सचिव राजन शुक्लाले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार पुगेर अबिरल वर्षाका कारण घर भत्किएका पाँच परिवार र कोरोना संक्रमित भइ निको भएका युवालाई सहयोग गरेका हुन् ।
शुक्लाले कोटहीमाई गाउँपालिका–१ सिपवा, परसपुर, तिवारीपुर, गोहुंगाव र पुर्निहवाका विपन्न परिवारलाई त्रिपाल, खाद्यान्न सामाग्री र नगद प्रदान गरेका हुन् ।
त्यस्तै उनले रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाई–१ पुर्निहवाका कृष्ण कुमार पासवान (कन्हैया)लाई खाद्यान्न, त्रिपाल र नगद रकम प्रदान गरेका छन् ।
‘घर भत्किएर समस्यामा परेका मर्चवारका विपन्न परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले सहयोगको हात अगाडी बढाएको हुँ, म पनि मर्चवारको बासिन्दा भएकोले मर्चवारमा पुगेर केही गरौं भन्ने सोच थियो, जन्मदिनको अवसरमा पीडित परिवारको गाउँमा पुगेर केही सामाग्री उपलब्ध गराएको हुँ, उनले भने ।
कोरोना संक्रमित भएर निको भएका व्यक्ति पनि विपन्न परिवार भएकोले थोरै भए पनि आफुले सहयोग गर्ने प्रयास गरेको शुक्लाले बताए ।
जन्मदिनको अवसरमा विपन्न परिवारलाई सहयोग गर्ने कार्य प्रशसंनीय रहेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का तृतीय उपाध्यक्ष रविकान्त उपाध्याय बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij