२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

विभिन्न निर्णय गर्दै रोहिणीमा घुम्ती बैठक सम्पन्न

बिहिवार , बैशाख १४, २०८०

भैरहवा, १४ वैशाख ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा गत आइतबार घुम्ती बैठक सम्पन्न भएको छ । यसअघि चैत १० गते ओमसतिया गाउँपालिकामा घुम्ती बैठक बसेको थियो । सोहीअनुसार यसपटक (वैशाख १० गते रोहिणीमा बैठक बसेको हो । बैठकले अघिल्लो बैठकमा भएका निर्णयहरुबारे समीक्षा समेत गरेको छ ।

बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले रुपन्देही जिल्लामा रहेका सबै स्थानीय तहले आफ्नो क्षेत्रअन्तर्गत पर्ने खेतीयोग्य जमिन बाँझो नराख्ने गरी कार्यक्रम बनाइ लागू गर्ने, सबै स्थानीय तहले कक्षा ५ सम्मको लागि १ सय पूर्णांकको स्थानीय पाठ्यक्रम बनाइ सबै विद्यालयमा कार्यान्वयन गर्न पहल गर्ने, कक्षा ५ र ८ को सामूदायिक विद्यालयको वार्षिक परीक्षाको नतिजा विश्लेषण गरी थप सुधार गर्नको लागि कार्यनीति बनाइ लागू गर्ने, बढ्दो गर्मीयामसँगै हावाहुरी बढिरहेको र यसले आगलागीको घटनासमेत बढिरहेकोले गहुँबाली काटेको जग्गा तथा जंगलमा आगो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय तहका वडा कार्यालयबाट माटोजन्य पदार्थको उत्खनन् गर्ने अनुमति दिने गरेको भनी गुनासो प्राप्त भएकाले उक्त कार्य बन्द गरी कानूनबमोजिम अनुमति र सम्झौता गर्ने, सम्झौता गरेपछि सोको जानकारी जिल्ला अनुगमन समिति र सुरक्षा निकायलाई गर्ने, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टबाट सञ्चालन हुने तालिम रुपन्देहीमा पनि सञ्चालन गर्ने, स्थानीय तहले गर्नुपर्ने न्यायसम्पादन सम्बन्धी निर्णयका साथै बालबालिकाको अधिकार प्रचलन गराउने विषय, पीडित महिलाको उद्दार र उपचारको व्यवस्था, लिखत प्रमाणीकरण, म्याद तामेली, व्यक्तिगत घटना दर्ता, न्यायिक समिति तथा मेलमिलाप पद्दतिको प्रभावकारिताका लागि स्थानीय तहले कानून भएबमोजिमको व्यवस्था कार्यान्वयन गरी रुपन्देही जिल्ला अदालतलाई आवश्यक समन्वय र सहयोग गर्ने निर्णय गरेको छ । 

कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश कृष्णराम कोइरालाले स्थानीय तहको न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘न्यायिक समितिको प्रभावकारिताको बारेमा छलफल गर्नुपर्छ ।’

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले स्थानीय सरकारले आफ्नै पाठ्यक्रम बनाएर आगामी शैक्षिक सत्रदेखि लागू गर्नुपर्ने बताए । उनले सामूदायिक विद्यालयको नतिजा सुधार गर्न आवश्यक कदम चाल्नुपर्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अवैध चोरी निकासी नियन्त्रण गर्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी देवी चौधरी, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीलगायतले बोल्दै समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी जिल्ला समन्वय अधिकारी धर्मा अर्याल वेलवासेको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।