“विश्वभर खुशीको लहर फैलिएको छ, जता ततै नेपाल र नेपालीको मात्र चर्चा छ । विश्वको सर्बोच्च शिखर सगरमाथा र पवित्र स्थल लुम्बिनीको चर्चा र परिचर्चा ऐले छैन।” भनेर एकजना निकै ठूला विद्वान विज्ञानका शिक्षकले मलाई भने । म भनें बढो आश्चर्यमा परें कसरी सगरमाथा र गौतमबुद्धको जन्मस्थल पनि गौण बन्यो, मैले धेरै दिमाग खेलाए पत्तो पाउन सकिन । उनै शिक्षकलाई यसबारे सोध्ने जिज्ञासा रह्यो, तर उनी हिंडि सकेछन्" कुनै बेला सोधौंला भनेर मनमनै भनिरहेको थिएँ,अकोए एकजना गाउँखाने कथाका महारथिसँग जम्का भेट भयो सोधें कता हो ?
उनले जवाफ दिए, “चल भाई सिताराम,
बैंशबारी डेरा
नेतालाई पगरी
नेता पत्नीलाई हीरा”
म त अक्कमक्कनै परें, हैन यो के भनेको होला ? यसको अर्थ, सार र भाव के होला ? मैले पटक्कै बुझ्न सकिन । “जहाँ केरा त्यहाँ बाहुनको डेरा” भन्ने चाँही सुनेको हो, नेतालाई पगरी पनि लगाइदिन्छन् र पो पनि बुझेको हो तर नेता पत्नीलाई हीरा भन्ने चाही मलाई पचेन ।
कुराहरु धेरै थिए, मेरा दिमागले पचाउन र भेउ पाउनै सकेन – काँग्रेस, कम्युनिष्टका सिद्धान्तहरु त पच्याइयो, पचाईंदै छ, देखिदैछ तर दुइ कुराले मेरा दिमाग पुरै नेस्तानावूद भयो । मलाई ति विज्ञान शिक्षकसँग भेट गरेर मनको खुलदुली मेट्न मन लाग्यो । उनलाई भेट्न भोलि ठिक ९ः३० बजे सरल स्टेश्नर्समा जानु नै पर्ने भयो जहाँ म पत्र पत्रिका लिन प्राय जाने गर्दछु । त्यहाँ पत्रिका किन्न जानका पनि केही फाइदा छन्, त्यही फाइदाका लागि भए पनि म जाने गर्दछु । सरल स्टेश्नर्समा गएपछि त्यहाँ विष्णुजीसँग भेट हुन्छ, त्यहाँबाट धेरै खुराकहरु बटुल्न सकिन्छ ।
अब मलाई भोलिको प्रतिक्षा रह्यो । म आफ्नो समयमा गएर ति शिक्ष्कसँग भेट नहुने भएकोले विहान ९ बजे जै घरबाट हिडे । बाटोमा मानिसहरु ओहोर दोहोर गरीरहेको थिए । सरल स्टेस्नर्समा पुग्ने वित्तिकै ति शिक्षकसँग भेट भयो ।
मैले भने, “सर ! एकक्षण समय छ ?”
जवाफ,“छ, भन्नु न !”
मैले भने, “हिजोको कुरा ! विश्वभर नेपाल र नेपालीको मात्र चर्चा छ सगरमाथा र बुद्ध जन्मस्थल गौण भयो भन्नुभयो, कसरी होला ?”
उनी अच्चम्मा परे ! यत्ति कुरा पनि म जान्ने भन्ने भाव उनमा देखियो । ‘ल सुन्नुहोस’, भन्दै उनी वयान गर्न थाले, “ऐलेको युग भनेको विज्ञानको युग हो, यो युगमा विभिन्न चमत्कारहरु भएका छन्, तर नेपाल मात्रएउटा यस्तो देश हो जसले सारा विज्ञान जगतलाई चकित तुल्याएको छ, सुपरसोनिक जेट वा रकेट बनाएर होइन, आफ्ना नागरिकलाई विदेशी बनाएर.....! आफ्ना नागरिकलाई ‘भुटानी’ बनाएर बख्खु पहिराउने देश हो हाम्रो । यति मात्र होइन २०४६ साल यता विदेशीहरुलाई नागरिकता दिनेमा रेकर्ड कायम गरेको छ । ऐले सारा विश्वमा यही चर्चा छ । कति पाकिस्तानी ? कति नेपाली ? कति भारतीय ? कति तिब्बती भुटानी शरणार्थी बनेर तेस्रो मुलुक गएका छन् ? यो कसैलाई थाहा छैन । थाहा हुने पनि छैन ।
“यो त अपराध होइन र ?” मेरो जिज्ञासा । “हैट ! कहाँ को अपराध ? यो एउटा मानव तस्कर विज्ञानको एउटा फड्को हो यो सबै देशले अंगिकार गर्न जरुरी छ, यसैले विश्वभर यसैको चर्चा छ । सुन्दैछु, यसबारे विश्वमा एउटा ठूलो सेमिनार हुँदैछ ।”
मलाई एउटा प्रश्न सोध्न मन लाग्यो, “त्यसो भए नेपाली नागरिकता पाउन दुःख हुँदैन ?”
उनले भनें, “हुँदैन, हुँदैन खास नेपाली रैथाने, यही बसोबास गरेकाहरुलाई अलि सकस होला तर विश्वभर जुनसुकै देशका नागरिकहरुले नेपालको नागरिकता लिन पाउँछन् ।”
“यसरी नागरिकता लिने विधि के होला ?” मैले सोधे ।
उनी भन्छन्, “नोट गरम गरम, नागरिकता छमा छम छमा छम......”
ति विज्ञान शिक्षक भन्छन्, “ हेर्नुहोस्, संयुक्त राष्ट्र संघले यस्तो वैज्ञानिक अन्वेषण गर्ने हाम्रो देशलाई ‘विश्व मुक्ति देश’को तक्मा दिंदैछ, किनकि विश्वका सारा आतंककारीहरु नेपाली नागरिकता लिएर विश्वभर फैलिनेछन्–विश्वलाई यस लोकबाट मुक्ति दिनेछन्”। उनको वैज्ञानिक दृष्टिकोण सुनेर म हेरेको हेरै भएँ ।