२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

केही समय विद्यालय बन्द गर्न अभिभावक महासंघ लुम्बिनीको आग्रह

आइतवार , जेठ २१, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • प्रहलाद यादव
    लुम्बिनी, २१ जेठ ।
    नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षाकोठामा बसेर अध्ययन गर्न कठिनाइ भएको हुँदा केही समय विद्यालय बन्द गर्न आग्रह गरेको छ । 

    महासंघका अध्यक्ष हेम थापाले शनिवार एक विज्ञप्ती जारी गर्दै केही दिनयता तराईका जिल्लाहरुमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुँदा उच्च तापक्रममा स–साना बालबालिकाहरुलाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कन समस्या भइरहेको, विद्यालय गए पनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भइरहेको भन्ने अभिभावकहरुको गुनासो आएको हुँदा विद्यार्थीहरुको जीवन रक्षाका लागि विद्यालय बन्द गर्नु उपयुक्त देखिएकाले स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन् । 

    विज्ञप्तीमा तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको र अत्याधिक गर्मीका कारण घाउखटिरा, झाडापाखाला जस्ता मौसमजन्य रोगहरु पनि देखिने जोखिम धेरै रहेकोतर्फ महासंघले सचेत गराएको छ । 

    बढ्दो गर्मीका कारण जिल्लाका केही विद्यालयहरु बन्द गरिएको भए पनि धेरै विद्यालयहरुका सञ्चालन गरेकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल केही दिन पठनपाठन बन्द गर्न अनुरोध गरेको छ । 

    रुपन्देही लगायतका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा उच्च गर्मीका कारण झाडापखाला, उच्च ज्वरोका बिरामीहरूको संख्या बढेको अस्पतालहरुले जनाएका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तराईमा लू चल्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन पनि आग्रह गरेको छ ।