
आइतवार , जेठ २१, २०८०
भैरहवा, २१ जेठ ।
भैरहवामा गर्मी बढेपछि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय आवगमन र पठनपाठनमा समस्या भएपछि नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरमा रहेका विद्यालयहरुमा जेठ २२ गतेदेखि जेठ २६ गतेसम्मका लागि वर्षे विदाबाट समायोजन गर्ने गरी विदा दिने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।
‘गर्मी बढेपछि विद्यार्थीहरुलाई विद्यालय आवगमन र पठनपाठनमा समस्या भइरहेको थियो’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख एवंं नगर शिक्षा समितिका संयोजक इश्तियाक अहमद खानले भने, ‘त्यसैले ५ दिनसम्म विद्यालयहरुमा विदा दिने निर्णय गरेका छौँ, यसले स–साना बालबालिकाहरु (विद्यार्थी) लाई राहत हुने विश्वास लिएका छौं ।’
साथै, नगरपालिकाको कार्यालयले गर्मी विदा सम्बन्धमा एक सूचना जारी गर्दै गर्मी विदाको अवधीमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिड्डुल गर्न नदिन र आवश्यक सावधानी अपनाउनका लागि अभिभावकहरुलाई आग्रह समेत गरेको छ । यस्तै पूर्वनिर्धारित कक्षा ११ को परिक्षा सञ्चालन गर्न विदा सम्बन्धीको निर्णयले बाधा नपर्ने जारी सूचनामा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान करिब ९ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रहेको छ । न्यूनतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij