
बुधवार , जेठ २४, २०८०
भैरहवा, २४ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति भैरहवा, रुपन्देहीले विभिन्न १८ बुँदे माग राख्दै सिद्धार्थनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बुधबार रास्वपा सिद्धार्थनगर सभापति सुमन न्यौपानेको नेतृत्वमा नगरपालिका कार्यालय पुगेको टोलीले नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाएको हो ।
सिद्धार्थनगर नगरपालिकाभित्र रहेका समस्याहरुप्रति रास्वपा सिद्धार्थनगर समितिको ध्यानाकर्षण भएकाले समस्याहरुको उचित व्यवस्थापन तथा सम्बोधन गर्नका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाइएको नगर सभापति सुमन न्यौपानेले बताए ।
रास्वपा सिद्धार्थनगर नगरपालिकामा रहेको स्वर्गद्वारी घाटदेखि डण्डापुल हुँदै फरेनी बजारसम्म जोडिएको डण्डा खोलालाई व्यवस्थित रुपमा सरसफाई गरी यो खोललाई तटबन्धन गरी पर्यटकीय स्थलको रुपमा निर्माण गरी डुंगा (स्टीमर) सञ्चालन गर्नुपर्ने, नगरका १३ वटै वडामै बिजुलीका पोल, तार, इन्टरनेटका केबुलहरुलाई नालामाथि विगत लामो समयदेखि अव्यवस्थित रुपमा रहेकोले उक्त तारहरुलाई व्यवस्थित गरी नगरलाई लोडसेडिङमुक्त क्षेत्र बनाउनुपर्ने र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको यातायात कार्यालय परिसरमा सरकारी मापदण्ड पुरा गरेको बैंक काउण्टर स्थापना गरी आम नागरिकको लागि राजस्व संकलन गर्न सहज वातावरण मिलाउनुपर्ने माग गरेको छ ।
त्यस्तै नगरका केही वडाहरु तथा बजार क्षेत्रमा दैनिक फोहोर व्यवस्थापनका लागि गाडीहरु गुड्दागुड्दै पनि बाटाघाटामा फोहोर अव्यस्थित रुपमा फालिदा बजार दुर्गन्धित भएकाले यसको समाधान गर्नुपर्ने, केही वडाहरुमा दैनिक फोहोर व्यवस्थापनका गाडीहरु नगएको र केही वडाहरुमा हप्ताको एकपटक गए पनि दिउँसोको समयमा (कर्मचारी तथा विद्यार्थीहरु नभएको) समयमा जाँदा फोहोर उठ्न नसकेकाले यसलाई व्यवस्थित गर्नुपर्ने, सुनौली बेलहिया नाका हुँदै दैनिक हजारौं बाह्य पर्यटकहरुलाई अनावश्यक चेकजाँच गरी छिटो र प्रभावकारी जाँच गरी नेपाल प्रवेश सहज गराउने र लुम्बिनी प्रवेशद्वार बुद्धचोक क्षेत्रमा धुलो, फोहोर, अव्यवस्थित ग्यारेज तथा कवाडीका पसलहरुलाई व्यवस्थित गर्न सि.न.पा.–९ मा रहेको अटो भिलेजलाई सञ्चालनमा ल्याउनुपर्ने र नगरपालिकाभित्र रहेका ठेला व्यवसायीहरुको समस्या समाधान एवं पसलहरुमा आउने उपभोक्ताहरुलाई पार्किङको उचित व्यवस्थापन गरी नगरपालिकाले उठाउँदै आएको मोटरसाइकल, स्कुटी, अटो रिक्सा, साइकल, हेल्मेट उठाउने क्रियाकलापलाई रोकी पार्किङको समस्या समाधान गर्न रास्वपाको माग छ ।
त्यसै गरी नगरपालिकाबाट घरबहाल कर, व्यवसाय करमा सहुलियत गर्नुपर्ने र घरधनीहरुले सटर भाडावापत लिएको रकममा सहुलियतको लागि नगरपालिकाले पहल गर्नुपर्ने, नगरका १३ वटै वडामा कृषियोग्य जमिनलाई आवश्यक रासायनिक मललाई समयमा नै किसानहरुलाई उपलब्ध गराउन तथा किसानहरुले उत्पादन गरेका तरकारीजन्य तथा कृषिजन्य सामानको प्रत्येक वडामा हाटबजार स्थापना गर्नुपर्ने, छाडा कुकुर तथा चौपायाहरुलाई व्यवस्थापन गर्नुपर्ने र घरपालुवा कुकुर तथा अन्य जनावर पाल्नको लागि वडा/नगरबाट सिफारिस लिनुपर्ने र बाटोघाटोमा डुलाएर दिसापिसाब गर्ने प्रचलन पनि बन्द गर्नुपर्ने रास्वपाले माग गरेको छ ।
पोलहरुमा लगाइएका सडक बत्तीहरु गुणस्तरीय नभएका कारण छिटो फ्युज हुने र फ्युज हुने बत्ती परिवर्तनका लागि महिनौ लाग्ने भएकाले समस्या समाधान गर्नुपर्ने, ट्राफिक लाईटहरुलाई साँझको बेलामा ८–९ बजेसम्म सञ्चालन गर्नुपर्ने र शनिबारको दिनमा पनि यथावत रुपमा सञ्चालनमा ल्याउनुका साथै सुरक्षाकर्मीको डियुटी पनि २४ सैं घण्टा हुनुपर्ने र नगरमा रहेका सरकारी विद्यालय र अस्पताललाई गुणस्तरीय र सर्वसुलभ गराउनुपर्ने रास्वपाको माग छ ।
सिद्धार्थनगरमा सञ्चालित केही सहकारीहरुले बचत संकलन गरेर भागेकाले सम्बन्धित सहकारीका सञ्चालकहरुको खोजतलास गरी पीडित पक्ष (बचतकर्ता)को पैसा फिर्ता गर्नको लागि कडा कदम चाली दोषीमाथि कानूनी कारवाही हुनुपर्ने, नगरभित्रका विभिन्न ठाउँहरु ल्गायत सि.न.पा.–८ अन्नपूर्ण टोलमा ११ हजार भोल्टेज बिजुलीको तार गौतमबुद्ध विमानस्थलमा लगिएको र त्यसमुनी मानव बस्ती परेको हुदा उचित व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै विकासका नाममा अलपत्र परेका निर्माण कार्यहरु मापदण्डविपरीत भइरहेका कामहरु रोक्न नगरपालिकाबाट निरीक्षण गर्नुपर्ने, खुल्ला सीमाका कारण कमिसनको खेलमा सीमापारीका सामानहरु बिना भन्सार वारी भित्र्याउने खेलहरु भइरहेकाले बिना भन्सार कुनै पनि सामान (साना वा ठूला) ल्याउनमा रोक लगाउनुपर्ने, नगरभित्र रहेका सार्वजनिक शौचालयको उचित व्यवस्थापन गरी थप शौचालयहरु निर्माण गर्नुपर्ने र विकास निर्माण गर्न आरम्भ गरिएका र अधुरा रहेका कामहलाई अविलम्ब सम्पन्न गर्नुपर्ने रास्वपा सिद्धार्थनगरको माग छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij